दाङ, १३ मंसिर । तुलसीपुरमा अप्टीमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष एकराज भण्डारीले आफ्नो जन्मदिनको अवसरमा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
उहाँले आफुले अध्यापन गराउँदै आएको विद्यालयका बाल विकासदेखि कक्षा १० सम्मका आर्थिक रूपले कमजोर तथा बुवा-आमा गुमाएका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
कार्यक्रम विद्यालय प्रार्थना सभाको समयमा आयोजना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेवा प्रसाद चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष झग्गु प्रसाद अधिकारी, विद्यालयका प्रधानाध्यापक रूपेश गुप्ता, तथा अन्य शिक्षकहरूको उपस्थितिमा सो सामग्री वितरण गरिएको हो ।
अध्यक्ष भण्डारीले यो कार्यलाई आगामी वर्षमा तुलसीपुरका अन्य विद्यालयमा पनि निरन्तरता दिने घोषणा गर्नुभएको छ । यस्तै कक्षा ८ का विद्यार्थीहरूका लागि विद्यालय समय बाहिर एक महिनाको निशुल्क अंग्रेजी विषयको रेमिडियल कक्षा सञ्चालन गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।
भण्डारीले आफ्नो क्लबले स्थापना कालदेखि नै बालबालिकामा देखिने मानसिक समस्याको निराकरण गर्न मनोसामाजिक परामर्श तथा मोटिभेसनल कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी पनि दिनुभयो ।
उहाँले क्लबका अन्य पदाधिकारी तथा सदस्यहरूलाई पनि यस्तै समाजसेवी कार्य गरेर जन्मोत्सव मनाउन प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेवा प्रसाद चौधरीले जन्मोत्सवको यस्तो उदाहरणीय कार्यको प्रशंसा गर्दै विद्यालयमा यस्तै अवसरमा एउटा कोष स्थापना गर्नुपर्ने सुझाव दिनुभयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष झग्गु प्रसाद अधिकारी र प्रधानाध्यापक रूपेश गुप्ताले अन्य शिक्षक तथा अभिभावकलाई पनि यस्तै रचनात्मक कार्यमा सक्रिय हुन आह्वान गर्नुभयो । कार्यक्रमको सहजीकरण शिक्षक प्रतिनिधि यज्ञबहादुर के.सी.ले गर्नुभएको हो ।