तुलसीपुर, १२ मंसिर । राप्ती बबई क्याम्पस तुलसीपुरले ३४ औं स्थापना दिवस मनाएको छ । क्याम्पसले आज विभिन्न कार्यक्रम गरी ३४ औँ स्थापना दिवस मनाएको हो । त्यस अवसरमा प्रतिनिधि सभा सदस्य दिपक गिरीले राप्ती बबई क्याम्पस अहिले बाह्य जिल्लाका विद्यार्थीहरुले पनि अध्ययन गर्ने शैक्षिक केन्द्र बनेको बताउनुभयो ।
उहाँले क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिलाएर थप विषय तथा कार्यक्रमहरु सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
३४ औं स्थापना दिवस तथा १९ औं साधारणसभामा प्रमुख अतिथि गिरीले क्याम्पसको स्तरोन्नति र विद्यार्थीहरुको उज्जवल भविष्यका लागि सरोकारवालाहरु जुनसुकै आस्था र विचारको भए पनि त्यसको प्रभाव क्याम्पसमा पर्न नहुने समेत उहाँले धारणा राख्नुभयो ।
त्यस अवसरमा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव शंकरप्रसाद भण्डारीले केही क्याम्पसहरुमा सञ्चालक तथा प्राध्यापकहरुको आन्तरिक द्वन्द्वका कारण अस्तव्यस्तता देखिएको तर राप्ती बबई क्याम्पसको टिम एक अर्काको अस्तित्व स्वीकार्दै गुणस्तरीय शिक्षामा केन्द्रित भएको बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्यहरु बुद्धिराम भण्डारी, अनारकली मिया, लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी लगायतले मन्तव्य राख्नुभएको हो ।
क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष मिनराज वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गर्नुभएको हो ।