२०८३ भाद्र १६ गते मङ्गलवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिकलसेलको उपचारका लागि बेग्लै वार्ड स्थापना


दाङ, २ मंसिर । थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ ।

आजबाट प्रतिष्ठानमा भर्ना हुनेका लागि १० बेड र दिवा उपचारका लागि ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत कार्तिक २० गते मन्त्रीस्तरीय निणर्य गर्दै भेरि अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गर्नुभएको थियो । यसलगत्तै थारुबहुल क्षेत्र दाङको घोराहीमासमेत सिकलसेल उपचारका लागि बेग्लै वार्ड स्थापना गरिएको हो ।

मन्त्री पौडेलले एक समुदायकै प्रमुख स्वास्थ्य समस्यासँग जुध्नका लागि आवश्यक सबै विकल्प अपनाउने बताएको एक महिनाकै बीचमा थप अर्को ठूलो सरकारी अस्पतालले वार्ड स्थापना गरेको हो ।

यससँगै थारु समुदायमा वंशाणुगत समस्याका रुपमा रहेको सिकलसेल उपचारका लागि उनीहरुको बसोबास रहेका प्रमुख दुवै क्षेत्रमा बेग्लै वार्डमार्फत उपचार शुरु भएको हो । मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित पाइएको छ ॥

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस