दाङ, २८ कार्तिक । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारस्थित श्री माध्यमिक विद्यालयमा विद्यार्थीका लागि मात्र नभई शिक्षकका लागि पनि जंकफुड निषेध गरिएको छ ।
जंकफुड खाएर विद्यार्थी धेरै अस्वस्थ हुन थालेपछि विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी क्लवकै अगुवाइमा जंकफुड निषेध गरिएको हो ।
विद्यालयमा अहिले विद्यार्थी तथा शिक्षकहरुले खाजा घरबाट नै बोकेर ल्याउन गरेको छन्, भने विद्यालयमा मात्र नभई घरमा पनि विद्यार्थीहरूले खाएको थाहा पाए कारबाही गरिने विद्यालयले जनाएको छ ।
विद्यालयमा यो नियम लागू भएसँगै विद्यार्थीले सबैलाई राम्रो लागेको बताएका छन् । जंकफुड खाँदा एकातिर स्वास्थ्यमा असर गर्ने र अर्कोतर्फ पैसा पनि खर्च हुने हुँदा विद्यालयमा यो नियम लागू भएसँगै अहिले घरबाट नै बनाएर खाजा ल्याउने गरेको विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले बताउनुभयो । ‘पहिला विद्यालयमा खाजा खानको लागि घरबाट पैसा मागेर ल्याउनु पर्दथ्यो । चाउचाउ, बिस्कुट लगायतका चिजहरु खाइन्थ्यो । तर, अहिले घरैबाट खाजा बनाएर ल्याउने गरेका छौँ ।’ उहाँले भन्नुभयो-‘यो निमय लागू भएसँगै अहिले पैसा पनि वचत भएको छ, भने स्वास्थ्यमा पनि फाइदा भएको छ ।’
बाहिरको खाजा खाँदा धेरै विद्यार्थीहरू बिरामी भएपछि विद्यार्थीहरू र विद्यालयको छलफलबाट जंकफुड निषेध गरिएको शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवरले बताउनुभयो । विद्यार्थीहरूलाई मात्र यो निषेध गरेर नहुने भन्दै शिक्षकहरूलाई पनि विद्यालयमा जंकफुड खान निषेध गरिएको र घरमै बनाएको खाजा ल्याउन गरेको उहाँको भनाइ छ ।
‘पहिला विद्यालयमा आएपछि चाउचाउ, पानीपुरी, चटपटे धेरै खान्थे । तर,अहिले हामी सबै विद्यार्थीले घरबाट नै खाजा बनाएर ल्याउन भनेका छौ, निणर्य पनि गरेका छौ ।’ उहाँले भन्नुभयो-‘रोटी तरकारी, चना, मकैका खाजा लगायतका खाजा शिक्षक र विद्यार्थीले ल्याउने गरेका छन् । अहिले विद्यार्थीहरु पनि खासै बिरामी भएका छैनन् ।’
उहाँका अनुसार पहिला विद्यार्थीहरु धेरै बिरामी हुने गरेका थिए । जसका कारण पनि विद्यालयमा यो नियम लागू गरिएको हो । यसले गर्दा अहिले सबैलाई राम्रो भएको छ ।
यस्तै उहाँले विद्यालयमा यो विद्यार्थीहरुलाई मात्र लागू गर्दा र शिक्षकहरुलाई नगर्दा प्रभावकारी नहुने भएको हुँदा विद्यार्थी र शिक्षकहरुलाई समेत निषेध गरिएको छ । यदि कसैले खाएको पाइएमा कारबाही गरिने गरेको उहाँको भनाइ छ ।
‘हाम्रो विद्यालयमा यो नियम लागू भएदेखि नै अभिभावकहरु पनि खुशी हुनु भएको छ । छोराछोरीहरुले खाजा, नास्ता खाने भन्दै सधैँ पैसा मागेर ल्याउने र उनीहरुले विद्यालयमा जंकफुड खाने हुँदा स्वास्थ्य र पैसाको नोक्सानी भएको थियो ।’ उहाँले भन्नुभयो-‘अहिले घरैबाट आफैले ल्याएर खादा पैसासँग स्वास्थ्यमा पनि फाइदा पुगेको छ ।’
पछिल्लो समय जंकफुडका कारण मानव स्वास्थ्य गम्भिर समस्या देखिरहेको अवस्थामा र विद्यालयमा पनि धेरै विद्यार्थीहरू बिरामी हुन थालेपछि यो निषेध गरिएको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले बताउनुभयो ।
विद्यालयमा यो निमय लागू भएदेखि अभिभावकहरू पनि खुशी भएको र विद्यार्थीहरू पनि बिरामी नहुने गरेको उहाँको भनाइ छ ।
विद्यालयमा यो निमय लागू भएपछि अभिभावकहरु पनि धेरै खुशी भएको समेत उहाँले बताउनुभयो । ‘धेरै अभिभावकहरुले मलाई फोन गरेर सोध्न हुन्छ । सर तपाईँले के जादु गर्नुभयो ।’ उहाँले भन्नुभयो-‘हिजो हाम्रा छोराछोरी पैसा नलगेर विद्यालय नै जादैनथे तर, अहिले पैसा माग्दैन् , घरबाट नै नास्ता लिएर जान्छन् ।’