२०८१ मङ्सिर २३ गते आइतवार

समुदायको शसक्तिकरणमा वडाअध्यक्ष रावतको प्रयास : वडाको लगानीमा फिल्म हेर्न पाउने व्यवस्था

दाङ, २७ कार्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले वडामा दलित समुदायको सशक्तिकरणका लागि चलचित्र ‘पूर्णबहादुरको सारंगी’ निशुल्क हेर्ने व्यवस्था गरेको छ ।

वडा कार्यालयले नारायणपुरस्थित भिएफएक्स चलचित्र हलमा प्रर्दशन भइरहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ को टिकट काटेर दलित समुदायका ६५ जनालाई चलचित्र हेर्ने अवसर प्रदान गरेको हो ।

वडाले सहभागीहरूको लागि यातायातको सुविधा, नास्ता खर्चसमेत उपलब्ध गराएर आज चलचित्र पनि निशुल्क हेर्ने व्यवस्था गरेको वडा अध्यक्ष मानबहादुर रावतले बताउनुभयो ।

उहाँले यस चलचित्रमार्फत समाजमा अझै व्याप्त केही चुनौतीपूर्ण वास्तविकतालाई प्रस्तुत गर्ने प्रयास गरिएको बताउनुभयो । उहाँले चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले नेपाली समाजमा आमाबिना बालबालिका अलपत्र पर्ने अवस्थालाई चित्रण गरेको र एक आमा फेरि विवाह गरेर गएपछि पनि बुवाले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन सक्छन् भन्ने सन्देश दिएकोले पनि वडाका दलित समुदाय सचेतना दिनलाई वडाले चलचित्र निशुल्क हेर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

उहाँले हाल समाजमा अझै पनि धेरै बालबालिका आफ्ना आमाबुवाको अवहेलनाको कारणले उच्च शिक्षाबाट वञ्चित हुने परिस्थितिको उदाहरण रहेको र यसले अभिभावकहरूको जिम्मेवारीबोधमा सुधार ल्याउनुपर्ने देखाएको बताउनुभयो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासहित ६५ जना सहभागीहरूलाई ‘पूर्णबहादुरको सारंगी’ चलचित्र हेर्नको लागि वडाले यो अवसर प्रदान गरेको हो ।

समाजमा परम्परागत सोच, जस्तै बुवाले कपडा सिलाए भने छोराले पनि त्यही पेशा अपनाउनुपर्छ, या सारंगी बजाए भने छोराले पनि सारंगी बजाउनुपर्छ भन्ने मनोवृत्तिको अन्त्य गर्न चलचित्रले सघाउ पु¥याउने वडा अध्यक्ष रावतले बताउनुभयो ।

उहाँले चलचित्रले परम्परागत सोचको सीमा चिरेर नयाँ दृष्टिकोण दिने प्रयत्न गरेको बताउनुभयो । वडा अध्यक्ष रावतले दलित सशक्तिकरणका लागि वडाले सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको महत्वलाई जोड दिएको बताउँदै चलचित्र निशुल्करुपमा हेर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

उहाँले चलचित्रलाई केवल मनोरञ्जनको साधनका रूपमा मात्र नभई समाजमा रहेका विभिन्न समस्याहरूको समाधान र चेतना विस्तार गर्ने माध्यमका रूपमा हेर्न आवश्यक रहेको बताउनुभयो ।

दलित सशक्तिकरण शिर्षकको बजेटबाट चलचित्र हेर्ने व्यवस्था मिलाएको अध्यक्ष रावतले जानकारी दिनुभयो । यस्तै नेपाली चलचित्र उद्योगको विकास र प्रवर्द्धनका लागि पनि वडाले आफ्नो क्षेत्रका नागरिकलाई चलचित्र हेर्ने अवसर दिएको उहाँले बताउनुभयो।

वडा अध्यक्ष समाजमा नविन र सकारात्मक कार्य गर्दै उदाहरणीय नेतृत्वको छवि बनाउँदै आउनुभएको छ । यसअघि पनि वडाले सुत्केरी महिलाहरूलाई भाले र घिउ उपहार दिने योजना सञ्चालन गरेर उनीहरूको स्याहारमा मद्दत गरेको थियो ।

अब वडा क्षेत्रमा पर्यटक आकर्षण बढाउन झोलुंगे पुल नजिकै ड्याम निर्माण गरी पर्यटन प्रवर्द्धनको कामलाई अघि बढाउने उहाँले जानकारी दिनुभयो । यसअघि स्वर्गीय श्रीमणी शालिक अनावरण समारोहमा पनि उहाँले सबै राजनीतिक दलका नेताहरूलाई सहभागी गराएर समावेशी नेतृत्वको उदाहरण प्रस्तुत गर्नुभएको थियो । यसैकारण पनि उहाँलाई समाजमा मात्र नभई समग्र तुलसीपुर क्षेत्रमै एक भिजनरी नेतृत्वको रूपमा चिन्ने गरिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस