रुकुम पश्चिम, २७ कार्तिक । रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला आजदेखि सुरु हुँदै छ । मुसिकोट नगरपालिका, ५–थर्पुमा रहेको डिग्रे साइकुमारी मन्दिर परिसरमा आज हरिबोधिनी एकादशीको दिनदेखि मेला सुरु हुने भएको हो ।
डिग्रे मन्दिर व्यवस्थापन समितिका अनुसार हरेक वर्ष कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने भए पनि एकादशी देखि नै मेला सुरु गरेको छ । यो वर्ष कार्तिक ३० गते मुख्य मेला परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।
हरेक वर्ष ५ दिन मेला लाग्ने भए पनि यो वर्ष भने तिथि घटबढका कारण कार्तिक २७ गते देखि ३० गतेसम्म ४ दिन मेला परेको उहाँले बताउनुभयो । यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भए पनि हरिबोधिनी एकादशी देखि पूर्णिमासम्म विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको सङ्ख्या पनि धरै हुन्छ ।
एकादशीदेखि चतुर्दशीसम्म विशेष पूजाआजा हुन्छ भने पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ । मन्दिरमा एकादशीका दिन र पूर्णिमाको दिन बलि चढाउन नमिल्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले बताउनुभयो । तर पूजाआजा भने एकादशी देखि पूर्णिमाको दिनसम्मै हुन्छ । यो वर्ष तिथि घटबढ परेका कारण मेला अवधिमा बुधवार र बिहीबार मात्र बलि चढाउने मिल्ने बताइएको छ ।
यस मन्दिरमा मेला अवधिमा मात्र करिब १ हजार बढी बोकाको बली चढ्ने गरेको छ भने करिब १ लाख जना दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजापाठ गर्ने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
डिग्रे मेला कर्णाली प्रदेशकै ठुलो धार्मिक मेला मध्येको एक हो । यस मन्दिरमा रुकुम पश्चिमसँगै छिमेकी जिल्ला रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ, सुर्खेतसँगै अन्य जिल्लाका भक्तजनहरू पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् ।
भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिको भनाई छ । डिग्रे साइकुमारी मन्दिरमा दर्शन तथा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मेला परापूर्व काल देखि नै लाग्दै आएको छ ।–कखराबाट