दाङ, २५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीणर् विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।
बोर्डका अनुसार २०५६ सालयता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीणर् विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीणर् हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका सबैखाले विद्यार्थी मौका परीक्षामा सहभागी हुन सक्नेछन् ।
बोर्डको यो व्यवस्था अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीणर् भएकासम्म मौका परीक्षामा सहभागी हुन पाउने छन् । विगत २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीणर् भएका परीक्षार्थीको सङ्ख्या झन्डै १४ लाख रहेको हुनसक्ने बोर्डको अनुमान छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज सूचना निकालेर पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ । बोर्डले यस्ता विद्यार्थीलाई आउँदो मङ्सिर २७ गतेभित्रमा आफूले अध्ययन गरेको शैक्षिक संस्थामा गएर परीक्षा फाराम भर्न अनुरोध गरेको छ ।
कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको शुरुका दुई अङ्क ५६ वा त्योभन्दा बढी र ७७ वा त्योभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा त्योभन्दा बढी र ७६ वा त्योभन्दा कम भएकालाई अन्तिम एक पटकको मौका दिइने छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २०५६ देखि २०७७ सम्म रजिस्ट्रेसन गरेका विद्यार्थीले परीक्षा आवेदन फाराम भर्न पाउने बताउनुभयो । जति विषयमा फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने उहाँको भनाइ छ ।