
तुलसीपुर, ११ कात्तिक । तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुले गड्यौले मल उत्पादनको सुरुवात गरेका छन् । विद्यालयमा बाली विज्ञान र बन विज्ञान अध्ययनरत विद्यार्थीहरुले सामुहिकरुपमा गड्यौला खेतीको सुरुवात गरेका हुन् ।
पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले उत्पादन गर्ने तरकारी, फलफूल र अन्य बालीका लागि उपयोग गर्ने उद्देश्यले गड्यौले मलको उत्पादन गर्न थालिएको हो ।
माटोका लागि उपयुक्त हुनुका साथै आफ्नै ठाउँमा उत्पादन हुने भएकाले यसतर्फ विद्यार्थीहरुलाई अग्रसर बनाइएको बाली विज्ञानका प्रशिक्षक समर्पण आचार्यले बताउनुभयो । उहाँका अनुसार गड्यौला मल सस्तो हुन्छ । जग्गाको माटो बिग्रिदैन त्यसैले गड्यौला मलको प्रयोग बढेको छ ।
सुरुवातमा विद्यार्थीहरुले ५ किलो गड्यौला राखेर मल उत्पादनको थालनी गरेका हुन् । रासायनिक मलले उत्पादन पनि घटाउने, महंगो पनि हुने, मल अभाव पनि हुने भएकाले गड्यौला मल उत्पादन गर्न थालेको विद्यार्थी संगिता न्यौपानेले बताउनुभयो ।
गड्यौला खेती गर्नका लागि तालिम र आवश्यक सामग्रीको व्यवस्थापन ग्रीन फाउन्डेशन नेपालले गरेको हो । हाललाई विद्यार्थीहरुले आफुले लगाएको बालीनालीमा प्रयोग गरेपनि विस्तारै व्यावसायिकरुपमा नै उत्पादन थालिने कार्यक्रम संयोजक कल्पना वलीले बताउनुभयो । गड्यौला मल उत्पादनलाई गाउँ गाउसम्म पुर्याउनका लागि विद्यार्थीहरुलाई परिचालन गरिने कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिनुभयो ।