२०८१ मङ्सिर २२ गते शनिवार

पानी पर्ने संभावना भएकाले तत्काल धान नकाट्न विज्ञको सुझाव

दाङ, ११ कार्तिक । यसपाली पनि वर्षाले काट्न लागेको र खेतमै छाडिएको धान भिज्ने चिन्तामा किसान रहेका छन् । तिहार नजिकिदै गरेको अवस्थामा धान थन्क्याउने तयारी गरिरहेका किसानलाई वर्षा शुरु हुन थालेपछि क्षति हुने चिन्ता छ ।

दाङलगायत तराईका जिल्लामा किसानहरूले यो वर्ष धानको राम्रो उत्पादन हुने आशा गरेका छन् । तर वर्षाले क्षति हुने चिन्ता किसानलाई छ । किसान विष्णु चौधरीले थन्क्याउन नपाउँदै बाली भिज्ने चिन्ता बढेको बताउनुभयो ।

शुक्रबारराती जस्तै थप वर्षा भएमा खेतमा भिजेका धान उम्रने जोखिम बढेको उहाँले बताउनुभयो । आकाश खुलेर मौसम सुधार नहुँदासम्म यस समस्याबाट राहत पाउने सम्भावना कम रहेको उहाँको भनाई छ ।

कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले अझै २/३ दिन पानी पार्ने अनुमान गरिएकाले पनि तत्काल सकेसम्म धान नकाट्न उहाँले किसानलाई सुझाव दिनुभयो ।

उहाँले धान धेरै नै पाकेको भएमात्र अहिले धान काट्न किसानलाई आग्रह गर्नुभयो । उहाँले धान काटिसकेपछि सकेसम्म तत्काल थे्रसरको प्रयोग गरि भित्र्याउन आग्रह गर्नुभयो । यदि सम्भव नभएमा काटेको धानलाई अग्ला स्थानमा राख्न र धान भिजिहालेमा तत्काल सुकाउन आग्रह गर्नुभयो ।

पानी परेपछि तोरी खेती तथा तरकारी खेती गर्ने किसान भने लाभाम्वित भएका छन् । देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले एक-दुई स्थानहरूमा हल्का वर्षा भईहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस