दाङ, ८ कार्तिक । लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री धन बहादुर मास्कीले अहिले नेपाली युवा विदेशीनुपर्ने स्थिति सिर्जना भएको बताउनुभएको छ ।
तुलसीपुर बहुप्राविधिक शिक्षालयले आज तुलसीपुरमा गरेको चियापान तथा शैक्षिक अन्तरक्रियामा निवर्तमान मन्त्री मास्कीले यसअघि मुलुकमा नेतृत्व गर्नेले सहि योजना नबनाउँदा देशमा बेरोजगारी स्थित सिर्जना भएको बताउनुभयो ।
उहाँले नेपाल आफैमा संभावनायुक्त रहेको भएपनि आर्थिक विकास गर्न नसकेको स्विकार गर्नुभयो । उहाँले अहिले आफ्नै कर्मचारीलाई तलब खुवाउन नसकिएको, विकासका पूर्वाधार भनेजस्तो गर्न नसकिएको बताउनुभयो ।
उहाँले उच्च शिक्षाका लागि विदेश जाने क्रम बढीरहेको समयमा तुलसीपुर मेट्रो कलेजले दक्ष जनशक्ति उत्पादनमा महत्वपूणर् भूमिका खेलेको बताउनुभयो । उहाँले कलेजका लागि आवश्यक बजेट व्यवस्थापनमा कोशिस गर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुरका पूर्व नगरप्रमुख ढुण्डीराज लामिछानेले नगरभित्र व्यावसायिक शिक्षा लागू गर्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि नगरले आवश्यक नीति बनाउनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष विपुल पोखरेलले सहि नेतृत्वका कारण मेट्रो कलेज सफलतामा पुगेको बताउनुभयो । उहाँले विद्यार्थी विदेश जाने चिन्ता भन्दा पनि विद्यार्थीलाई रोक्ने चिन्तन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुरका सहसचिव शेषमनी भण्डारी, नेकपा एमाले तुलसीपुरका अध्यक्ष रूपबहादुर खत्री, नेकपा एकीकृत समाजवादीका डिला परियार, नेकपा विप्लवका बिजय मल्ल, एमनेष्टी इन्टरनेशनलका अध्यक्ष विपिन बुढाथोकी, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेश राजभण्डारी, तुलसीपुर नगर जेसिजका अध्यक्ष पूणर्बिक्रम डाँगी, गुरूजजुर माविका सहायक प्रधानाध्यापक प्रमोद न्यौपाने, जनप्रिय इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रकाश शर्मा लगायतले विदेश पलायनलाई रोक्नका सरोकारवाला सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
कलेज प्रमुख बसन्त आचार्यले कलेजमा अहिले ३५० विद्यार्थीले निशुल्क पढिरहेको र ३८ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । उपमेयर स्यानी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कलेज प्रमुख बसन्त आचार्यले गर्नुभएको हो ।