दाङ, ५ कार्तिक । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच सेकेण्डरी स्कुलमा आजदेखि अतिरिक्त क्रियाकलाप शुरु भएको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान र सिप सिकाउन विद्यालयले अतिरिक्त क्रियाकलाप कार्यक्रमको आयोजना गरेको हो ।
कार्तिक १३ गतेसम्म संचालन हुने अतिरिक्त क्रियाकलाप कक्षामा विद्यार्थीले रेडियो उद्घोषण र मञ्च उद्घोषणसंगै हाउस वायरिङ, खेलौना निर्माण, जग्गाको नाप, मुडा बनाउने लगायतका सिप सिक्न पाउने विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले जानकारी दिनुभयो ।
विद्यालयले विद्यार्थीलाई हरेक समयमा व्यावहारिक ज्ञान, सिप सिकाउने गरेको र आजबाट तिहार अघिसम्म अर्थात कार्तिक १३ गतेसम्म पनि विभिन्न ज्ञान सिप सिकाउने उहाँको भनाई छ । बजारमा टिक्ने र बिक्ने जनशक्ति उत्पादनका लागि विद्यालयले किताबी ज्ञानमात्र नभएर बाहिरी ज्ञान र सिप सिकाउने गरेको प्रअ भण्डारीले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीको अध्यक्षता तथा तुलसीपुर-७ का अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।
त्यस अवसरमा वडा अध्यक्ष जिसीले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले संचालन गरेको विद्यालयले विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने ज्ञान सिप सिकाउन थालेकोमा प्रशंसा व्यक्त गर्नुभयो । उहाँले पढेका कुरालाई व्यवहारमा लागु गराउन प्रयोगात्मक क्रियाकलाप अनिवार्य हुनुपर्ने बताउनुभयो । वडाले पनि टोल विकास संस्थाका प्रतिनिधिसंग समन्वय गरेर वडाका युवालाई व्यवहारिक सिप सिकाउने योजना रहेको पनि बताउनुभयो ।
यस्तै विद्यालय संचालन उपसमिति संयोजक भरत भण्डारीले विद्यार्थीले हरेक सिप सिक्नमा चासो दिनुपर्ने बताउनुभयो । उहाँले मेहनत र प्रयास गर्नेहरु मात्रै सफल हुने बताउँदै सिप सिक्न र ज्ञान लिनमा पछि पर्न नहुने बताउनुभयो । विद्यार्थी जीवनमा मेहनत गर्ने नै सफलतामा पुगेको समेत उहाँको भनाई छ ।

उद्घाटन कार्यक्रममा विद्यालय संचालक संस्था हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले दैनिक जीवनमा आवश्यक पर्ने ज्ञान सिप सिकाउन विद्यालयले अतिरिक्त क्रियाकलाप कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
उहाँले विद्यार्थीलाई व्यवहारिक सिप सिकाउदै दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयको स्थापना गरिएको र सोहि अनुसार विद्यालयमा अतिरिक्त ज्ञानका कक्षाहरु पनि संचालन हुने गरेको बताउनुभयो । उहाँले विद्यार्थीलाई सिप सिकिसकेपछि व्यवहारमा लागु गर्न पनि आग्रह गर्नुभयो ।
विद्यालयका नेपाली शिक्षक लक्ष्मी घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो । अतिरिक्त क्रियाकलापमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी रहेका छन् ।


