तुलसीपुर, २ कार्तिक । राप्ती आँखा अस्पतालको नेत्रज्योति प्राविधिक शिक्षालयमा नेत्र सहायक अध्ययन गर्ने नवआगन्तुक विद्यार्थी तथा उनीहरूका अभिभावकलाई अभिमुखिकरण गरिएको छ । अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम अन्तर्गत नवौं व्याचका विद्यार्थीहरूको स्वागत गर्दै अभिमुखिकरण गरिएको हो ।
एकाडमिक चिफ तथा आँखा रोग विशेषज्ञ डा. सुरेश रसाइलीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा केन्द्रीय सदस्य गिरीले आँखा स्वास्थ्य शिक्षामा दक्षता हासिल गरी अन्धोपन न्युनीकरणमा योगदान पुर्याउन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो । विद्यार्थीहरूले आफ्नो उद्देश्य प्राप्त गर्न लगनशिलता हुनुपर्ने भन्दै गिरीले सैद्धान्तिक र प्राज्ञिक ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।
उहाँले आँखाका बिरामीहरूसँग प्रत्यक्ष सरोकार राख्ने पेशा भएकाले सचेत भएर अध्ययन गर्न विद्यार्थीहरूलाई अपिल गर्नुभयो । कार्यक्रममा डा. सुरेश रसाइलीले नेपालमा नेत्र विशेषज्ञहरूको संख्या करिब ५÷६ सय मात्रै रहेको जानकारी दिनुभयो ।
उहाँले विशेष विशेषज्ञता भएका अकुलोप्लास्टी, रेटिना र नेत्र बालरोग विशेषज्ञहरूको संख्या अझै न्यून रहेकाले पनि नेत्र सहायकको अध्ययन गर्नेहरूका लागि ठूलो अवसर भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका सदस्य ध्रुव गौतम, राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतम, गुरुजजुर माविका प्रधानाध्यापक विष्णु कमारी केसी, प्रशिक्षक रेश्वरराज भट्टराई लगायतकाले नवआगन्तुक विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभयो ।
शिक्षालयका प्रशासक तथा लेखा अधिकृत प्रेमाकुमारी सापकोटाले विषय प्रवेश र स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण लायब्रेरियन निरला अर्यालले गर्नुभएको हो । शिक्षालयमा अध्ययनका लागि सातै प्रदेशबाट विद्यार्थीहरू आउने गरेका छन् । विशेषगरी लुम्बिनी र कर्णाली प्रदेशबाट धेरै विद्यार्थी आउने गरेको तथ्यांक शिक्षालय प्रशासनले जनाएको छ ।