
तुलसीपुर, ४ असोज ।
आज ३१ औं विश्व अल्जाइमर दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । तुलसीपुरमा ज्येष्ठ नागरिक नगरस्तरिय संजाल र तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा अल्जाइमर दिवस मनाइएको छ ।
ज्येष्ठ नागरिक नगरस्तरिय सञ्जालका अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि स्वस्थ हुन आवश्यक रहेको बताउनुभयो । उहाँले जीवनमा रिस त्याग्नुपर्ने कुरामा जोड दिनुभयो ।
उपप्रमुख स्यानी चौधरीले व्यस्त जीवनशैली र असन्तुलित खानपानले बिर्सने समस्या उत्पन्न हुने भन्दै, ज्येष्ठ नागरिकहरूको स्याहार केन्द्र सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले ज्येष्ठ नागरिकहरूमा अल्जाइमर रोगको समस्या हुँदा नयाँ पुस्ताले नबुझेका कारण समस्या उत्पन्न हुने बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिकहरूको सम्मानका लागि अल्जाइमर सम्बन्धी सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो । लुम्बिनी प्रदेशका ज्येष्ठ नागरिक संघका अध्यक्ष खुमानन्द अधिकारीले आमाबुवाको सम्मानमा कमी गर्न नहुने र जीवनशैली सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले पुराना पुस्ताको ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय लोक चुट्का भजन संस्कृति प्रतिष्ठान दाङका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद भुसालले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण ज्येष्ठ नागरिक नगर सञ्जालका सचिव लेखराज बस्नेतले गर्नुभएको हो