
दाङ, २७ भदौ । तुलसीपुर उपमहानगरपालिकाको २५ औँ कार्यपालिका शुक्रबार बैठक आह्वान गरिएको छ । लामो समयसम्म विवादकैबीच बस्न नसकेको कार्यपालिका बैठक तीन महिनापछि शुक्रबार बिहान ११ बजे बोलाइएको हो ।
शुक्रबारको कार्यपालिका बैठकमा टोल विकास संस्था सञ्चालन कार्यविधि, ई-हाजिरी सफ्टवेर खरिद, हाइमास्ट लाइट सञ्चालन, सञ्चारगृह वर्गीकरणसहितका विभिन्न २२ वटा एजेन्डामा छलफल गर्ने तयारी गरिएको छ ।
तयारी गरेअनुसार कार्यपालिका बैठक अगाडि नबढ्ने एक कार्यपालिका सदस्यले जानकारी दिए । उनका अनुसार २३ औं कार्यपालिका बैठकमा आफुहरूलाई झुक्याएर गरिएको निणर्य प्रबिधि तथा सफ्टवेयर खरिद प्रकरणमा छानबिन समिति गठन मुख्य एजेण्डा रहने छ ।
यदि त्यसो नगरी मनोमानी ढंगले अगाडि बढ्न खोजे बैठक बहिष्कार गर्ने तयारी भएको र यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने आफूहरूको माग रहेको उनले बताए । ‘यदि छानबिन समिति गठन गर्ने सहमति नजुटेमा बैठक बहिष्कार गर्ने चेतावनी दिन चाहन्छौं ।’ उनले भने ।
त्यस्तै अर्का एक वडा अध्यक्षले सफ्टवेयर खरिद प्रक्रियामा अनियमितताको आशंका व्यक्त गरिएकोले पालिकाको बैठकमा सदस्य सचिवका रूपमा प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए बमोजिम बैठकमा उनी सहभागी भए बैठक बहिष्कार गर्ने बताए ।
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतकै कारण महिना महिनामा बैठक बस्न नसक्दा विषयहरू धेरै भएको र कतिपय विवादित विषय भएकाले आजको बैठकको परिस्थिति अन्य बैठकको तुलनामा फरक हुने आँकलन गरिएको छ ।
कुराकानीका क्रममा एक कार्यपालिका सदस्यले आक्रोश पोख्दै भने- आजको परिस्थिति नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको गतिविधिमा निर्धारण हुन्छ । कार्यपालिका सदस्यका कुरा नसुनी अगाडि बढ्न खोजे परिस्थिति जे पनि हुनसक्छ ।’
आजको बैठकको परिस्थिति फरक हुने देखेपछि नेकपा एमाले जिल्ला कमिटीले पदाधिकारीसहित नगरप्रमुख र एमालेबाट निर्वाचित वडाध्यक्षहरूलाई बसालेर मेयरकै कार्यकक्षमा छलफल समेत गरेको थियो । तर अहिले पनि असहमतिका स्वरहरू झन् तीव्र बनेका छन् ।