दाङ, २७ भदौ । तुलसीपुरमा बेवारिसे शब व्यवस्थापनमा चुनौति देखिन थालको छ । शव व्यवस्थापनका लागि उपमहानगरपालिकाले भाडामा लिएको जग्गाको सम्झौता सकिएपछि बेवारिसे शब व्यवस्थापनमा चुनौति देखिन थालेको हो ।
उपमहानगरपालिकाले पछिल्लो एउटा शब १४ दिनपछिमात्रै व्यवस्थापन गरेको छ । तुलसीपुर-६ मा रहेको मानव सेवा आश्रममा आश्रित ७९ वर्षिय वृद्धाको भदौ १२ गते मृत्यु भएको थियो । ति वृद्धाको शब उपमहानगरपालिकाले १४ दिनपछि बुधबारमात्रै व्यवस्थापन भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शवको पोष्मार्टमपछि प्रहरीले १९ गते तुलसीपुर उपमहानगरपालिकाको फोहर व्यवस्थापन शाखालाई शव व्यवस्थापनका लागि पत्राचार गरेका थियो । तर प्रहरीले पत्राचार गरेको एक हप्तापछि मात्रै शब व्यवस्थापन भएको हो ।
बेवारिसे शब व्यवस्थापन गर्ने ठाउँ निश्चित नहुँदा पछिल्लो समय समस्या हुन थालेको एक कर्मचारीले बताए । नगरले बेवारिसे शब व्यवस्थापनका लागि तुलसीपुर-१२ का अमरबहादुर बस्नेतको जग्गा भाडामा लिइएको थियो । तर त्यो सम्झौता २०८१ असार ४ गते सकिएपछि नगरले सोहि सम्झौतालाई निरन्तरता पनि दिन सकेन भने अहिलेसम्म नयाँ ठाउँको समेत खोजि गरेको छैन् ।
२०७८ सालमा गरिएको सम्झौताअनुसार शुरुमा मासिक ९ हजार भाडा थियो । सम्झौतामा हरेक आर्थिक वर्षमा १० प्रतिशतका दरले मूल्य बृद्धि गर्ने सम्झौता भएको तत्कालिन समयमा सरसफाई शाखामा कार्यरत खिमकान्त पाण्डेले बताउनुभयो ।
कार्यपालिका बैठक समयमा बस्न नसकैकै कारण बेवारिसे शब व्यवस्थापनको जग्गा खोजिमा ढिलाइ भएको हो । स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएअनुसार महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक बस्नुपर्छ अनि आवश्यकताका आधारमा पटक पटक पनि बस्न सकिन्छ । तर नगरमा कार्यपालिका बैठक गत जेठ ३२ यता बस्न सकेको छैन् ।
समयमा कार्यपालिकाको बैठक बस्न नसक्दा यस्ता खालका समस्याहरु देखिन थालेको र यो अस्थिरता अझै लम्बिदै गएमा नागरिकहरुबाटै जनप्रतिनिधिहरु तिरस्कृत हुने अवस्था आउने तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताउनुभयो ।
महिनौंसम्म कार्यपालिका बैठक बस्न नसक्दा यस्ता विषयहरु उठाउन नपाएको उहाँले बताउनुभयो । यसबारेमा नगरप्रमुख टिकाराम खड्कासंग पटक-पटक कुरा गर्न खोज्दा पनि उहाँले कुरा गर्न चाहनुभएन । यसबारेमा उहाँको गैरजिम्मेवारीपन देखिएको छ ।
पालिकाले साउन महिनामा ४ वटा र भदौमा एउटा बेवारिसे शव व्यवस्थापन गरेको छ । तर निश्चित जमिन नहुँदा बेवारिसे शव व्यवस्थापनमा समस्या भएको छ ।