२०८१ फाल्गुन ७ गते बुधवार

कपुरकोटमा बहुपक्षीय बहस : सडकको सुधारदेखि शैक्षिक सुधारमा जोड

सल्यान, २६ भदौ । कपुरकोट- कोइला सडक खण्डमा चल्ने रोल्पा सिमेन्ट र घोराही सिमेन्ट उद्योगका टिप्परका कारण अत्याधिक सास्ती पाएको स्थानीयले गुनासो गरेका छन् । उनीहरुले टिप्पर व्यवस्थितरुपमा संचालन गर्न आग्रह समेत गरेका छन् ।

सल्यानको कपुरकोट गाउँपालिकाले मंगलबार गरेको बहुपक्षीय बहस कार्यक्रममा स्थानीय तथा सरोकारवालाले सिमेन्ट उद्योगको टिप्परका कारण सडकको अवस्था बिग्रदै गएको, हिलो र धुवाँले सास्ती पाएको गुनासो गरेका छन् ।

कपुरकोट- ५ मिलनबजारका स्थानीय बिम बहादुर रसाइलीले सिमेन्ट उद्योगका टिपरका कारण निकै सास्ती पाएको बताउनुभयो । उहाँले धुलो र हिलोले अत्याधिक सास्ती दिएकाले सडकको अवस्था सुधार गर्नका लागि सिमेन्ट उद्योग र गाउँपालिकाको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै प्रेम भण्डारीले टिप्परले क्षमता बढी लोड बोक्दा सडकको अवस्था बिग्रने गरेको बताउनुभयो । टिप्परको लोड क्षमता मापन गर्न स्थानीय सरकारले चासो दिनुपर्ने बताउनुभयो ।

कपुरकोटका स्थानीय व्यवसायी रूद्रप्रसाद शर्माले सडकको धुलो र हिलो भान्सासम्म पुग्ने गरेको बताउनुभयो । त्यस अवसरमा सहभागी अन्य सरोकारवालाले कपुरकोट गाउँपालिका र सिमेन्ट उद्योगबिच दुई वर्षअघि भएको ८ बुँदे सम्झौता पूणरुपमा कार्यान्वयनमा जोड दिएका छन् ।

नेपाली कांग्रेस कपुरकोट गाउँपालिका सभापति यकराज वलीले सिमेन्ट उद्योगले पालिकासंग गरेको सम्झौता पूणर्रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेका प्रतिनिधि मधुसूदन गिरीले सिमेन्ट उद्योगले गरेको सम्झौता कार्यान्वयनमा पालिकाले चासो दिनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी कपुरकोटका उपाध्यक्ष शेर बहादुर पुनले पालिकाले कपुरकोट -कोइला सडक र राप्ती राजमार्गको स्तरोन्नतीका लागि पहल गर्नुपर्ने बताउनुभयो । उहाँले आफुले पनि दुवै सडकको सुधारका लागि निरन्तर पहल गरिरहेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा कपुरकोट गाउँपालिका अध्यक्ष तुलसीराम योगीले नागरिकले टिप्परको सास्ती कहिलेसम्म बेहोर्नुपर्ने बताउनुभयो । उहाँले सिमेन्ट उद्योगले सम्झौता कार्यान्वयन नगर्नु दुखद रहेको बताउनुभयो ।

घोराही सिमेन्ट उद्योगका प्रतिनिधि अमर सुवेदीले कसैलाई पनि आर्थिक प्रलोभनमा नपारेको बताउनुभयो । उहाँले प्रहरी र गाउँपालिका नेतृत्व कसैलाई आर्थिक रकम नदिएको दावि गर्नुभयो ।

यस्तै रोल्पा सिमेन्ट उद्योगका प्रतिनिधि अर्जुन वलीले गाउँपालिकासंग भएको सम्झौता कार्यान्वयन हुने विश्वास्त रहन आग्रह गर्नुभयो । उहाँले कहिलेसम्म उद्योगले सम्झौता कार्यान्वयन गर्ने प्रश्न पनि गर्नुभयो । यसैगरी नेकपा एकिकृत समाजवादी पाटीका भद्रसिंह बुढाले सोलावाङ-रिम सडकको स्तरोन्नती भइरहेकोमा गुणस्तरका लागि सम्बन्धित निकायले चासो दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले सिमेन्ट उद्योगले सम्झौता कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।

उहाँले घोराही सिमेन्ट उद्योग र रोल्पा सिमेन्ट उद्योगले सडकको सुधार र सामाजिक उत्तरदायित्व अन्तरगत प्रतिवर्ष १०/१० लाख दिने सहमति कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । उहाँले सिमेन्ट उद्योगले दुई वर्षमा गाउँपालिकाको खातामा ६ लाख मात्रै जम्मा गरेको बताउनुभयो ।

उहाँले सम्झौता पूणर्रूपमा कार्यान्वयनमा आउने बताउनुभयो । उहाँले राप्ती राजमार्गको ६० करोडको टेण्डर आब्हान हुन लागेको र त्यो बजेट दाङ-सल्यान सडकबाटै कार्यान्वयन गरेर अघि बढ्नका लागि सबैको जनदवाव आवश्यक रहेको बताउनुभयो । यस्तै कपुरकोट-कोइला सडकखण्डमा पनि ८ करोड बजेट परेकोले सो बजेट कार्यान्वयन कपुरकोटबाटै हुनुपर्ने बताउनुभयो ।

यस्तै कपुरकोट गाउँपालिकाले संचालन गरेको आधारभूत अस्पतालमा जनशक्ति र उपकरणको आवश्यक रहेकोले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । विद्यालय सुधारका लागि कार्यदलले दिएको सुझावलाई कार्यान्वयन गर्न अहिलेदेखि नै लाग्नुपर्ने बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख नविन थापाले कपुरकोट कोइला सडकको कालापत्रे गरेर दिर्घकालिन समाधान गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पूर्वाधार विकास कार्यालयसंग ठुलो बजेट नभएको तर यसको कालोपत्रेको लागि आवश्यक पहल गर्न सकिने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले सिमेन्ट उद्योगसंग भएको सम्झौता कार्यान्वयनमा नआउनुमा आर्थिक लेनदेन भएको भनेर सामाजिक संजालमा आएकोप्रति दुख प्रकट गर्नुभयो ।

उहाँले सिमेन्ट उद्योगको टिप्परका कारण नागरिकले सास्ती पाउनुपर्ने अवस्थाको अन्त्य गर्न पालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो । गाउँपालिकालाई आरोप लगाएको कुरा उद्योगीहरुले खण्डन गरिसकेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले आयोजना गरेको बहुपक्षीय बहसमा सडक, कृषि, शिक्षा, स्वास्थ्य लगायतका विषयमा छलफल गरिएको हो । कार्यक्रममा बढी सडककै विषयले बढी प्राथमिकता पाएको थियो । अधिकांशले राप्ती राजमार्ग अन्तर्गत कपुरकोट-तुलसीपुर सडक खण्ड र कपुरकोट कोइला सडकको अवस्था सुधार, शिक्षाको सुधार, स्वास्थ्यको सुधार, कृषिको सुधारका लागि सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।

गाउँपालिका शिक्षा शाखा अधिकृत सरस्वती भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको हो । त्यस अवसरमा उहाँले गाउँपालिकामा शिक्षाको अवस्था निकै नाजुक रहेको बताउनुभयो ।

उहाँले कक्षा ५ र ८ को नतिजा निकै खस्किएको समेत बताउनुभयो । यस्तै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या पनि निकै कम रहेको बताउनुभयो । एउटा कक्षामा कम्तीमा पनि १५ जना विद्यार्थी हुनुपर्ने भएपनि अहिले १२ जना पनि नरहेको उहाँको भनाई छ ।

यसैगरी सल्यान उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन कार्कीले सामुदायिक विद्यालयमा आयोग पास गरेर आएका शिक्षकले पढाएका विद्यार्थीको शैक्षिकस्तर कमजोर हुनु लज्जास्पद रहेको बताउनुभयो ।

त्यस अवसरमा शैक्षिक सुधारका लागि शिक्षक संघ-संघठनका प्रतिनिधिले राज्य, शिक्षक, नागरिक सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताएका छन् । बामदेव अधिकारी, चुडामनी केसी, कुल बहादुर बुढा लगायतले सामुदायिक विद्यालयको शिक्षा सुधारमा सबैको जिम्मेवारी रहेको बताउनुभयो ।

यस्तै गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुवास हमालले संघिय सरकारको नीति अनुसार कपुरकोट गाउँपालिकाले आधारभूत अस्पताल संचालन गरेपनि जनशक्तिको अभाव रहेको बताउनुभयो । उहाँले सल्यानमै पहिलोपटक कपुरकोट गाउँपालिकाले स्वास्थ्य बिमा लागु गरेपनि आवद्ध हुनेको संख्या उत्साहजनक नरहेको बताउनुभयो ।

तरकारीको ग्रेडिङ गरिदै
कपुरकोट तरकारी उत्पादनका हिसावले प्रख्यात ठाउँ हो । कपुरकोटको तरकारी देशका विभिन्न ठाउँका भान्सामा पुग्ने गरेको छ । कपुरकोटमा तरकारीको ग्रेडिङ अनिवार्य ग्रेडिङ गरिन लागेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो ।

ग्रेडिङ भन्नाले विभिन्न मापदण्डहरूका आधारमा तरकारीको गुणस्तर निर्धारण गर्ने प्रक्रिया हो । यस प्रक्रियामा तरकारीलाई तौल, आकार, रंग, ताजगी, भित्रको गुणस्तर, र बजारको मागअनुसार विभिन्न श्रेणीमा वर्गीकृत गरिन्छ । ग्रेडिङले किसानहरूलाई उचित मूल्यमा तरकारी बेच्न मद्दत पुर्‍याउँछ भने उपभोक्ताहरूलाई गुणस्तरीय उत्पादन खरिद गर्न सजिलो बनाउँछ ।

कार्यपालिकाले निणर्य गरिसकेको र अब कार्यान्वयनमा आउने प्रशासकिय अधिकृत वलीले बताउनुभयो । यसैबिच कपुरकोट हाट बजार व्यवस्थापन समितिका अध्यक्ष तिलक शर्माले गाउँपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएपछि किसानमा हौसला थपिएको बताउनुभयो । उहाँले अब लगत्तै विषाधि परिक्षणका लागि ल्याव संचालनमा ल्याउन लागेको बताउनुभयो । कार्यक्रमको सहजीकरण गाउँपालिका योजना तथा प्रशासन सहायक जीवराज केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस