
सल्यान, २२ भदौ । जीवन ज्योति नमुना माविले ७२औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित मनाउने भएको छ । कपुरकोट गाउँपालिका-५ रिम, सल्यानमा रहेको विद्यालयले आफ्नो ७२ औं वार्षिकोत्सव यही भाद्र २५ देखि २८ गतेसम्म विभिन्न कार्यक्रमहरू गरी मनाउने तयारी गरेको हो ।
विद्यालयका प्रधानाध्यापक भुपाल साहुका अनुसार वार्षिकोत्सवको अवसरमा खेलकुद प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता, घैटाफोर, भलिबल, खुला ब्याटमिन्टन प्रतियोगिता हुनेछ । यस्तै पूर्व विद्यार्थी र पूर्व शिक्षक कर्मचारीहरूको सम्मेलन तथा अन्तरक्रिया पनि हुने विद्यालयले जनाएको छ ।
यस्तै वार्षिकोत्सवको अवसरमा विज्ञान सामग्री प्रदर्शनी र सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछ । वार्षिकोत्सव कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, तथा विद्यालयका पूर्व कर्मचारीको पनि सहभागिता रहने प्रधानाध्यापक साहुले बताउनुभयो ।
विद्यालयले विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्नेछ भने विभिन्न अक्षयकोषबाट छात्रवृत्ति पनि प्रदान गर्ने उहाँले बताउनुभयो । त्यस अवसरमा विद्यालय प्रशासनले सरोकारवालाहरूलाई उपस्थित हुन आग्रह गरेको छ ।