दाङ, २१ भदौ । गएरातीको अविरल वर्षापछि पहिरो जाँदा दाङ-सल्यान सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत पर्ने राम्री, चोरखोला लगायतका ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको सल्यानको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।
रातीमा पहिरो झरेका कारण सवारीसाधन बिचबाटोमै रोकिएका छन् । अहिले पनि लगातार वर्षा भइरहेकोले पहिरो झर्ने क्रम जारी छ ।
गएराती ९ बजेतिर राम्रीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँले यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन सुझाव दिनुभएको छ ।
उहाँले गएराती जेसिबी चालक कोहि पनि सम्पर्कमा नभएकोले आज बिहानदेखि मात्रै बाटो खुलाउने गरी पहल भइरहेको बताउनुभयो ।
प्रकाशित मिति : २०८१ भाद्र २१ गते शुक्रवार


