२०८१ मङ्सिर २३ गते आइतवार

नगरप्रमुख टिकाराम खड्कासहित स्वास्थ्य शाखाको टिमले लार्भा खोज्दै


तुलसीपुर, २० भदौ । तुलसीपुर उपमहानगरपालिकाले डेङ्गीबाट बच्न नगरवासीहरूलाई सचेत बनाउन र लार्भा नष्ट गर्न अभियान सुरु गरेको छ । वर्षातको समयमा डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि नगरवासीहरूलाई बच्ने उपायबारे जागरूक गराउन यो अभियान थालिएको हो ।

प्रत्येक साताको शुक्रबार सचेतना अभियान र विद्यालय शिक्षा कार्यक्रमसँगै लार्भा नष्ट अभियानलाई निरन्तरता दिने योजना अघि सारिएको छ । यो अभियान उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन महाशाखाको आयोजनामा आज बिहिबारदेखि सुरु भएको हो ।

अभियानको पहिलो दिनमा नगर प्रमुख टिकाराम खड्का, महाशाखा प्रमुख, स्वास्थ्यकर्मी, तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकारहरूको टोलीले विभिन्न क्षेत्रहरूमा सचेतना कार्ड वितरण गर्दै लार्भा नष्ट गरेका छन् ।

यस क्रममा विपि चोक, पिपलवोट ओरालो, न्यूरोड, नयाँ बसपार्क लगायतका स्थानमा घर तथा पसलका वरपर पानी जम्न नदिने र सरसफाइ गर्ने अपिल गरिएको छ ।

अभियानको क्रममा सबैभन्दा धेरै कवाड संकलन केन्द्र, होटल र केही घरहरूमा राखिएका गमला, टायर, ड्रमहरूमा सरसफाइको अभाव देखिएको थियो । जहाँबाट भेटिएका लार्भा नष्ट गरिएको छ ।

अभियानका क्रममा जोखिम देखिएका क्षेत्रहरूमा हरेक सातामा अनुगमनलाई तीव्रता दिने जनस्वास्थ्य महाशाखाका सिअहेव विष्णु गिरीले जानकारी दिनुभयो ।

उहाँले डेङ्गीबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै यसका लागि ठोस उपचार नभएको, तर लक्षणअनुसार उपचार गरिने जानकारी दिनुभयो । ‘हाम्रो शरीरमा प्लेटलेट्सले रगत जमाउने काम गर्छ तर यसको मात्रा घटेमा समस्या बढ्न सक्छ’ उहाँले भन्नुभयो-‘त्यसैले सबैलाई सचेत रहन आग्रह गर्दछु ।’

तुलसीपुरमा गत वर्ष १ सय ९१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो भने चालू वर्षको साउन महिनामा २२८ जनाको जाँच गरिएकामा ८९ जनामा डेङ्गी संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक बिमल केसीले बताउनुभयो । उहाँका अनुसार पुष्टि भएका मध्य २० जना अस्पताल भर्ना भएका थिए भने अन्य सबै सामान्य उपचारपछि निको भएका छन् ।

डेङ्गी सङ्क्रमण भएमा एक्कासि ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् । जटिल अवस्थामा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा जानुपर्ने महाशाखा प्रमुख ओम पी न्यौपानेले बताउनुभयो । बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवतीहरूलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।

नगर प्रमुख टिकाराम खड्काले नगरवासीलाई डेङ्गीबाट जोगिन सतर्कता अपनाउन अपिल गर्दै वातावरणीय सरसफाइमा स्थानीय सरकारको मात्र भर नपरी नागरिकहरूले पनि आफ्नो कर्तव्यका रूपमा पालना गर्न आग्रह गर्नुभयो । उहाँले यसो गरेमा सम्पूणर् समुदाय नै स्वस्थ रहने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ भाद्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस