
दाङ, १९ भदौ । दाङको बबई गाउँपालिका वडा नम्बर ७ मलईमा बँदेलको आक्रमणबाट ३५ वर्षीय रेशम बाँठा मगर गम्भीर घाइते भएका छन् । परिवारका अनुसार आज बुधबार बिहान करिब ३ बजे बारीमा मकै खान आएका बँदेललाई धपाउन खोज्दा बँदेलले अचानक आक्रमण गरेको हो ।
बँदेलको आक्रमणबाट मगरको खुट्टा, हात, र मुखमा गम्भीर चोट लागेको छ । उहाँलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भर्ना गरिएको छ ।
मलई क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्जबाट आउने बँदेलहरूले बारीमा मकै नष्ट गर्ने गरेका छन् । स्थानीयवासीहरूले बँदेलको आक्रमणले गर्दा वर्षेनी मानिसहरू घाइते हुने र यसले गाउँलेहरूलाई निकै सास्ती भोग्नुपरेको बताएका छन् ।
प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार