२०८३ भाद्र १७ गते बुधवार

वेपत्ता पारिएकाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने परिवारको माग

दाङ, १४ भदौ । वेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने परिवारले बताएका छन् । अन्तर्राष्ट्रिय वेपत्ता दिवसको अवसरमा तुलसीपुरमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले राजनीतिक विवाद र स्वार्थका कारण राज्यले द्वन्द्व पिडितका समस्या समाधानमा ध्यान केन्द्रित गर्न नसकेको गुनासो गरेका छन् ।

द्वन्द्वको क्रममा राज्य पक्षले बुवा लक्ष्मण चौधरीलाई वेपत्ता बनाएको तुलसीपुर-१५ का बिनोद चौधरीले बताउनुभयो । उहाँले राज्यले करिब २१ वर्षसम्म पनि बुवाको अवस्थाको सत्यतथ्य सार्वजनिक गर्न नसकेको बताउनुभयो ।

उहाँका अनुसार लक्ष्मण चौधरीलाई २०५९ साल भदौ २१ गते राज्य पक्षले वेपत्ता बनाएको थियो । उहाँले राज्यले अहिलेसम्म परिचयपत्र बाहेक अरु केहि दिन नसकेको बताउनुभयो । परिचय पत्रको पनि कुनै पनि ठाउँमा काम नभएको उहाँको गुनासो छ ।

दिवसको अवसरमा तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा वेपत्ता पारिएका परिवारले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी दाङले दिवसको अवसरमा वेपत्ता पारिएका परिवारसंग कार्यक्रम गरेको हो ।

द्वन्द्वको क्रममा वेपत्ता पारिएका परिवारसंग अन्तरक्रिया कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतमले बताउनुभयो । द्वन्द्वमा संलग्न पक्षहरु र सम्बन्धित अधिकारीलाई वेपत्ताका परिवारले जान्न पाउने अधिकारको सुनिश्चिता गर्न पनि दिवसको अवसरमा वेपत्ता पारिएका परिवारसंग कार्यक्रम गरिएको उहाँको भनाई छ ।

नेपालमा २०५२ देखि २०६३ सम्म दश वर्षे द्वन्द्वको क्रममा थुप्रै व्यक्ति वेपत्ता भएका थिए । नेपालमा करिब १ हजार ३ सय व्यक्ति वेपत्ता भएको तथ्यांक रहेको उहाँले बताउनुभयो ।

जिल्ला सभापति मदन गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा नगरप्रमुख खड्का, तुलसीपुर-६ का अध्यक्ष दुजमान भण्डारी, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सदस्य नारायण आचार्य लगायतले मन्तव्य राख्नुभएको हो । जिल्ला उपसभापति हरिहर पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला उपमन्त्री बिमल केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस