चितवन, ८ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा हिजो भारतीय तीर्थयात्री सवार बस दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षण चितवनमा हुने भएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव हिजो राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
उनीहरुलाई हिजो नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक रायले बताउनुभयो । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।