दाङ, ७ भदौ । दाङसहित देशका अधिकांश ठाउँमा आज पनि मौसममा बदली रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा शुक्रबार पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अर्थात् नेपालनजिक अवस्थित रहेको छ ।
न्यूनचापीय रेखा पूर्वमा नेपालनजिक रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रही शुक्रबार बिहान कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ ।
आज बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही सबै प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको हुने पूर्वानुमान गरेको छ ।
शुक्रबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने प्रक्षेपण छ ।


