२०८१ फाल्गुन ७ गते बुधवार

लागूऔषधकाे नकारात्मक असरबारे विद्यार्थीलाई प्रशिक्षण


दाङ, २ भदौ । दाङको तुलसीपुर-१९ बिजौरीमा रहेको नयाँ पाइला पुनस्र्थापना केन्द्रमा मेरी गोल्ड इंगलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई लागूऔषधले पार्ने असरबारे प्रशिक्षण गरिएको छ ।

लागूऔषधबाट टाढा रहन र यसका नकारात्मक प्रभावबारे सचेत गराउन विद्यार्थीलाई प्रशिक्षण गरिएको हो । आइतबार (आज) विद्यालयबाट केन्द्रको कार्यालय बिजौरीमा पुगेका विद्यार्थीलाई प्रशिक्षण गरिएको नयाँ पाइला पुनस्र्थापना केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताउनुभयो ।

उहाँले विद्यार्थीलाई विशेष गरी लागूऔषधको दुव्र्यसनले शैक्षिक भविष्य र व्यक्तिगत जीवनमा पार्ने नकारात्मक असरहरू सचेतना प्रदान गरिएको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा मनोपरामर्शविद् शैलेश शर्माले विद्यार्थीहरूलाई लागूऔषधले मानसिक र सामाजिक जीवनमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउनुभयो ।

प्रशिक्षणका क्रममा शर्माले लागूऔषधको दुरुपयोगले कसरी किशोर-किशोरीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ भन्ने विषयमा चर्चा गर्नुभयो । उहाँले लागूऔषध प्रयोगको परिणामस्वरूप उत्पन्न हुने मानसिक समस्याहरू, परिवार र समाजमा हुने प्रभावहरूबारे विद्यार्थीहरूलाई चेतना दिलाउनुभयो । लागूऔषधबाट टाढा रहन र स्वस्थ जीवनशैली अपनाउन उहाँले विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुभयो ।

विद्यालयका सहायक प्रिन्सिपल सोमराज बस्नेतले विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्धको शिक्षा दिन नयाँ पाइला पुनस्थापना केन्द्र बिजौरीको कार्यालयमै प्रशिक्षण गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस