तुलसीपुर, १ भदौ । दाङको तुलसीपुरमा रहेको महिला कारागारमा पुस्तकालय स्थापना गरिएको छ । पीडित सेवा संघ दाङको समन्वयमा महिला बन्दी गृहमा पुस्तकालय स्थापना गरिएको हो । कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदी बन्दीहरूलाई अध्ययनका लागि विभिन्न पुस्तकहरु हस्तान्तरण गरिएको पीडित सेवासंघ दाङका संयोजक टोप बहादुर महतराले बताउनुभयो ।
उहाँका अनुसार स्वास्थ्य, सकारात्मक सोच, बौद्धिक परीक्षण,उच्च शिक्षाका विभिन्न पुस्तकहरू,लोकसेवा सहयोगी पुस्तक, योगाभ्यास सम्बन्धि पुस्तकहरू कारागार सुरक्षा प्रमुख जोगेन्द्र केसी मार्फत महिला कैदीबन्दीहरूलाई हस्तान्तरण गरिएको हो ।
पुस्तकालयमा पुस्तकसंगै व्यक्तिगत रूपमा संयोजक महताराले एक थान एलइडि समेत प्रदान गर्नुभएको छ । संस्थागत र व्यक्तिगत पहलमा करिब ६० हजारको लागतमा विभिन्न किसिमका पुस्तक र एलइडी प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
तुलसीपुर कारागार सुरक्षा प्रमुख सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक डिएसपी जोगेन्द्र केसी, नेपाल प्रहरीका वरिष्ठ हवलदार कृष्णबहादुर एरी,पीडित सेवासँग दाङका स्वयंसेवक गीता बिष्ट महतारा,पत्रकार बसन्त पौडेल लगायतको सहभागिता रहेको थियो ।
महिला बन्दी गृहमा पुस्तकालय स्थापना गरी पठन संस्कृतिको विकासका लागि संस्थाले योगदान पुर्याएको भन्दै पीडित सेवा संघ दाङलाई सुरक्षा प्रमुख केसीले धन्यवाद ज्ञापन गर्नुभएको हो । संघले यसअघि पनि कारागारमा फिल्टर लगायतका अत्यावश्यक सामग्रीहरू हस्तान्तरण गरेको थियो ।
तुलसीपुर कारागार अन्तर्गत महिला बन्दी गृहमा अहिले ५८ जना रहेका छन् । जसमध्ये ४६ जना कैदी, ११ जना थुनुवा र ३ जना आश्रित बालबालिका रहेका छन् ।