२०८१ मङ्सिर २२ गते शनिवार

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेको अनुमान


सोलुखुम्बु, ३२ साउन । सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेको अनुमान गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामे क्षेत्रमा अहिले हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि तटीय क्षेत्रमा प्रहरी र सेनासमेत परिचालन गरिएको बताउनुभयो ।

प्रजिअ पाण्डेले खुम्बु क्षेत्रमा हिमपहिरो झरेको हो या हिमपोखरी फुटेको यकिन नभएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म बाढीले दुई होटल बगाएको छ । मानवीय क्षतिको विवरण नआइसकेको उहाँले बताउनुभयो ।

खुम्बु पासाङल्हामु गाउँपालिका-५ की वडासदस्य ङवाङ जाङ्मु शेर्पाले बाढीका कारण ठूलो क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार थामे क्षेत्रका धेरै घरमा भीषण बाढी पसेको छ । बाढीका कारण थामेका कम्तीमा ७० घर पूरै डुबानमा परेका छन् । गाउँका ४० प्रतिशतजति घरहरू भत्काइदिएको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस