२०८३ भाद्र १७ गते बुधवार

गएराती लुम्बिनी र कर्णालीका केही ठाउँमा ठूलो वर्षा


दाङ, ३२ साउन । गएराति लुम्बिनी र कर्णालीका केही ठाउँमा ठूलो वर्षा भएको छ । गएराती दाङसहित गुल्मी, म्याग्दी, बाग्लुङ, पर्वत, जाजरकोट, दैलेख र अछाममा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा जाजरकोटमा ८६ दशमलव ६ मिलिमिटर, गुल्मीको मुसिकोटमा ८४ दशमलव ४ मिलिमिटर र बाग्लुङको गलकोटमा ८३ दशमलव २ मिलिमिटर पानी परेको छ ।

गुल्मीको मुसीकोट, तम्घास, म्याग्दीको मुना, बाग्लुङको गलकोट, पर्वतको पञ्चासे, कार्किनेटा वर्षामापन केन्द्र र आसपासको क्षेत्र भई बहने निस्ती खोला लगायत अरु स–साना खोलामा बहाव केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमीनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै जाजरकोट, दैलेखको डन्डा गाउँ, अछामको असाराघाट क्षेत्रमा पनि ठूलो पानी परेकाले ती ठाउँहरुमा पनि सतर्कता अपनाउन महाशाखाले भनेको छ । आज पनि मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस