
दाङ, ३० साउन । दाङमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सर्पको टोकाइबाट घोराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवागाउँका सन्तोष चौधरीको ६ वर्षिया छोरी इन्दु चौधरीको मृत्यु भएको हो ।
करेत सर्पले बालिका र आमालाई आज बिहान करिब १ बजेतिर डसेको हो । सर्पले डसेपछि झारफुकमा लाग्दा उपचारमा ढिलाई भएपछि बालिकाको मृत्यु भएको हो ।
सर्पले इन्दुको आमा २५ वर्षिय आश्मा चौधरीलाई पनि टोकेको छ । उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार