दाङ, २५ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका नागरिकलाई सर्पको पहिचान र सर्पदंशबाट बच्ने उपायबारे सचेतना प्रदान गरिएको छ ।
दलित महिला संघ दाङको आयोजनामा शुक्रबार भएको कार्यक्रममा सर्प उद्धारकर्ता प्रभात भण्डारीले सर्पको टोकाइबाट बच्ने उपाय र सर्पको पहिचानबारे प्रशिक्षण दिनुभएको हो ।
उहाँले सबै सर्प विषालु नहुने भएकोले सर्पको पहिचान राम्रोसंग गर्नुपर्ने र सर्पलाई मार्न नहुने बताउनुभयो । कतिपय सर्पले विषालु सर्प आउन नदिने समेत उहाँले बताउनुभयो ।
उहाँले सर्पले टोकेपछि झारफुकमा लाग्दा सर्पदंशबाट मृत्युवरण गर्नुपरिरहेको स्थिति रहेको बताउनुभयो । उहाँले सर्पले टोकेपछि जतिसक्दो छिटो अस्पताल पुग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सर्पले टोकेपछि बाँध्ने र चिरा पारेर रगत फाल्ने प्राथमिक उपचार गर्ने प्रक्रिया गलत भएकाले त्यसो नगर्न आग्रह समेत गर्नुभएको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का कार्यबहाक अध्यक्ष तुलप्रसाद खरालले सर्पदंशका घटनाबाट जोगिनका लागि घर वरपरको सरसफाईलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले अहिले पनि अधिकांशले सर्पले टोकेपछि झारफुकमा लाग्ने गरिएको भन्दै यसले गर्दा बिरामीको मृत्यु समेत हुने गरेको बताउनुभयो ।
दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले सर्पदंशका घटनाबाट जोगिनका लागि सचेतामूलक कार्यक्रम गरिएको बताउनुभयो ।

दाङ सर्पदंशको जोखिम क्षेत्र भएकाले पनि सर्पदंशबाट कसैले पनि मृत्युवरण गर्नु नपरोस् भनेर फाउण्डेशन फर जस्ट सोसाइटी र वडाको सहकार्यक्रमा सचेतना अभियान थालिएको बताउनुभयो ।
कार्यक्रममा करिब १ सय जनाको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी भिमा खड्काले सर्पले टोकेपछि गर्ने उपचार प्रक्रियाबारे धेरै कुराको जानकारी प्राप्त गर्न पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रमको सहजीकरण दलित महिला संघ दाङका सचिव गंगा बिकले गर्नुभएको हो ।


