दाङ, २३ साउन । दाङमा औलो संक्रमणबाट एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका-७ भैंसाही नाकाका २५ बर्षिय डिलशा बुढाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले बताउनुभयो ।
उहाँका अनुसार टिएफ मलेरिया अर्थात कडा खालको औंलो संक्रमणका कारण बुढाको मृत्यु भएको हो । एक दशक यता नेपालमा औंलो संक्रमणबाट कसैको पनि मृत्यु नभएको र यो घटना पहिलो भएको आचार्यले जानकारी दिनुभयो । उपचारको लागी अस्पताल पुर्याउन ढिलाई भएका कारण बुढाको मृत्यु भएको उहाँले बताउनुभयो ।
भैंसाही नाकामा औलो संक्रमण फैलिएपछी स्वास्थ्य कार्यालय दाङ र राजपुर गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । नेपालको बाटो भएर घटनास्थलमा जान नसक्ने अवस्था भएपछि कोइलावास नाका भएर भारतको बाटो हुदै भैंसाही नाकामा स्वास्थ्यकर्मीको टोली जान थालेको हो । भैंसाही नाकामा ज्वरो आएका बिरामी दश जना भन्दा बढी छन् । औंलो संक्रमण फैलिएकाले उपचार टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
औंलो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो। औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखा पर्छ । यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ ।
लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ । औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्ने जोखिम रहने स्वास्थ्य कार्यालयले जनाएको छ ।