दाङ, २१ साउन । दाङमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी सल्यानको त्रिबेणी गाउँपालिका वडा नम्बर ३ टोट्के निवासी ४६ बर्षका यमबहादुर केसीको मृत्यु भएको हो । जिप दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् ।
दुर्घटनामा परी त्रिवेणी गाउँपालिका-३ टोट्केकै ४५ वर्षिय ऐश्वर्य केसी, ४५ वर्षकै पार्वती केसी, ३४ वर्षकी रेखा वली घाइते हुनुभएको छ । यस्तै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-३ का २५ वर्षिय सरिता खड्का, सल्यानको त्रिवेणी गाउँपालिका-३ का ३१ वर्षिय रोजिका वली र लमजुङको मध्यनेपाल नगरपालिका-७ का २४ वर्षिय लिला बास्तोला घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो ।
घाइते सबै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जिप आइतबार हिजो बेलुका साढे सात बजेतिर आफै अनियन्त्रित भइ दाङको शान्तिनगर गाउँपालिका-१ हाँडीचौरमा दुर्घटनामा परेको हो । दुर्घटना लगत्तै चालक फरार रहेको प्रहरीले जनाएको छ ।


