दाङ, २० साउन । ज्ञानदिप कलेजले बिबिए र बिएससी सिएसआइटीको सम्बन्धन प्राप्त गरेको छ । तुलसीपुर-६ मा रहेको कलेजले विद्यार्थी र अभिभावकको माग बमोजिम यसवर्ष फार वेष्टर्न युनिभर्सिटीबाट बिबिए र बिएससी सिएसआइटी पढाउन पाउने सम्बन्धन प्राप्त गरेको हो ।
गुणस्तरिय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कलेजले चालु शैक्षिक सत्रबाट थप दुई वटा कार्यक्रम संचालन गर्न लागेको ज्ञानज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीले बताउनुभयो ।
‘बिबिए र बिएससी सिएसआइटी चार वर्षे आठौँ सेमेस्टरको हो ।’ उहाँले भन्नुभयो-‘यो कार्यक्रम ल्याउनका लागि बिगत १२ वर्षदेखि निरन्तर लागेका थियौँ, यसवर्ष सम्बन्धन प्राप्त गर्न सफल भएका छौँ ।’
बिबिए र बिएससी सिएसआइटी पढ्नका लागि जिल्ला बाहिर जानु परिरहेको अवस्थालाई मध्यनजर गरी ज्ञानदिप कलेजले सम्बन्धन प्राप्त गरेको सिइओ जिसीले बताउनुभयो ।
अबदेखि समय सापेक्ष विषय विद्यार्थीले कम लागतमा आफ्नै ठाउँमा बसेर पढ्न पाउने उहाँले बताउनुभयो । २०७० सालदेखि निरन्तर उच्च शिक्षाको सेवा दिदै आएको ज्ञानज्योति एजुकेशन फाउण्डेशनले यसवर्षदेखि उच्च शिक्षाका ६ वटा कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
बिबिए र बिएससी सिएसआइटीमा चार वर्षसम्म अध्ययन गरिसकेपछि विद्यार्थीलाई व्यवसायीक कार्यमा दक्ष बनाउने उहाँले बताउनुभयो । बिबिए पढ्नका लागि मान्यताप्राप्त शिक्षणसंस्थाबाट कम्तिमा सि ग्रेट प्राप्त गरेको हुनुपर्नेछ भने बिएससी सिएसआइटी पढ्नका लागि सबै विषयमा कम्तीमा ५० प्रतिशत वा सी ग्रेट प्राप्त गरेको हुनुपर्ने सिइओ जिसीले बताउनुभयो ।
भाइस प्रिन्सिपल मनोज केसीले युग सुहाउँदो शिक्षा विद्यार्थीलाई दिन बिबिए र बिएससी सिएसआइटी कार्यक्रम संचालन गर्न लागेको बताउनुभयो । सूचना प्रविधिको बढ्दो प्रयोगसंगै यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न बिएससी सिएसआइटी सम्बन्धन प्राप्त गरेको बताउनुभयो । यस जनशक्तिको माग बजारमा अत्याधिक रहेको उहाँको भनाई छ ।
यस्तै बिबिए अध्ययन पश्चात बैंकिङ क्षेत्र लगायतका विभिन्न फाइनान्सीयल क्षेत्रमा सजिलै रोजगारी प्राप्त गर्न सकिने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले ज्ञानज्योतिमा बिबिए र बिएससी सिएसआइटी संचालन भएसंगै पढ्नका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण सन्तोष केसीले गर्नुभएको हो ।