दाङ, १९ साउन । बाढीका कारण अवरुद्ध घोराही-तुलसीपुर सडक संचालनमा आएको छ । गएराती आएको बाढीका कारण तुलसीपुर-७ कालाखोलामा रोकिएका सवारी साधन आज बिहान ८ बजेदेखि सुचारु भएका हुन् ।
सडक अहिले पूणर्रुपमा सुचार भइसकेको पत्रकार बसन्त पौडेलले जानकारी दिनुभयो । खोलामा पानीको बहाव घटेपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको उहाँले बताउनुभयो ।
कालाखोलामा पुलमाथि नै बाढी आएपछि सडक अवरुद्ध बनेको थियो भने एउटा अटोलाई बगाएको थियो । कालाखोलाले शुक्रबार गएराती करिब साढे ९ बजेतिर रा १ ह २३५७ नम्बरको अटो बगाएको हो ।
तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको अटोलाई बगाउँदा वेपत्ता भएका चालक तुलसीपुर-७ पर्सेनिका २२ वर्षका दुर्गा बहादुर पुनलाई सकुशल उद्दार गरि अस्पताल लगिएको वडा अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो । पुनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहको प्रहरीले जनाएको छ ।