कञ्चनपुर, १८ साउन । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । दोधारा चाँदनी-२ कमलासा टोलकी २६ वर्षिय हीरादेवी शाहको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
घरछेउकै खेतमा घाँस काट्दै गरेकी हिरादेवीलाई बिहिबार बिहान करिब १० बजेतिर आक्रमण गरेको हो । उहाँलाई नजिकैको उखुबारीबाट आएको बाघले पछाडिबाट आक्रमण गरेर घिसार्दै लगेको थियो ।
हल्ला भएपछि जम्मा भएका स्थानीय र सुरक्षाकर्मी खोज्दै जाँदा हीरा उखुबारीभित्र मृत अवस्थामा भेटिनुभएको थियो ।
दोधारा चाँदनी नगरपालिका-२ कमलासा टोलमा बुधबारदेखि नै बाघ देखिएको थियो । नेपालसँगै सीमा जोडिएको भारतीय क्षेत्रमा राष्ट्रिय वन छ । त्यही वन क्षेत्रबाट बाघ बस्तीमा पसेको अनुमान छ ।
हीराको मृत्यु भएपछि उक्त क्षेत्रमा बाघको खोजीका लागि निकुञ्ज प्रशासनले हात्ती परिचालन गरेको थियो । महिलामाथि आक्रमण गर्ने बाघ दोस्रो दिन नियन्त्रणमा आएको छ । बिहीबारदेखि खोजी सुरु भएको बाघ शुक्रबार नियन्त्रणमा आएको हो ।
बाघ नियन्त्रणमा लिइसकेको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताउनुभयो । उहाँका अनुसार बाघलाई एउटा डार्ट सुई लागेपछि बेहोस भएको हो ।
बाघलाई नियन्त्रणमा लिनका लागि बिहीबार ४ वटा हात्ती र प्राविधिक टोली परिचालन भएको थियो । ४ घण्टासम्म प्रयास गर्दा पनि बाघलाई नियन्त्रणमा लिन सकिएको थिएन । शुक्रबार थप १ हात्ती प्रयोग गरेर ५ हात्तीसँगै प्राविधिक परिचालन गरेपछि बाघ नियन्त्रणमा आएको हो ।
हेर्नुहोस् भिडियो :