तुलसीपुर, १७ साउन । तुलसीपुर मेट्रो कलेजले मुट कोर्ट अभ्यास अदालत सम्बन्धि साताव्यापी आवासिय क्याम्प सञ्चालन गरेको छ ।
कानून संकायमा अध्ययनरत विद्यार्थीहरुलाई आन्तरिक प्रतिष्पर्धा गराएर छानिएका २२ विद्यार्थीहरुलाई ७ दिनसम्म आवासिय रुपमा क्याम्प सञ्चालन गरिएको थियो । उक्त क्याम्पमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट प्रशिक्षण दिइएको कार्यक्रम संयोजक विजय पोख्रेलले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई कानूनी बहसमा अभ्यस्त गराउनका लागि कार्यक्रमको आयोजना गरिएको पनि संयोजक पोख्रेलले जानकारी दिनुभयो । अभ्यास अदालतसँग सम्बन्धित बहस,कानून मस्यौदा र कानूनी अनुसन्धान लागयतका कुराहरुमा विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रशिक्षक अनुज चन्दले जानकारी गराउनुभएको थियो ।
उहाँले विभिन्न मुटकोर्ट प्रतियोगितामा सहभागिता जनाउनका लागि आवश्यक पक्षका बारेमा जानकारी दिनुभयो । त्यस अवसरमा प्रशिक्षक चन्दले अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकार,आत्मनिणर्य लगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा अधिवक्ता सुनिल यादवले अदालती मस्यौदा लेखन,थुनछेक सम्बन्धि कानून, बहस नोट लगायतका विषयमा जानकारी गराउनुभयो भने कार्यक्रममा कानून संकाय संयोजक विजय पोख्रेल,उपप्राध्यापक कमल मरासिनी,अधिवक्ता सुष्मा केसी लगायतले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको हो ।
कानुनी विषयलाई व्याबहारिक ढँगले अध्यापन गराउनका लागि क्याम्पको आयोजना गरिएको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिनुभयो । उहाँले विभिन्न मुटकोर्ट प्रतियोगितामा सहभागिताका लागि विद्यार्थीहरुलाई क्याम्पसले सहजता प्रदान गरेको समेत बताउनुभयो । कार्यक्रममा नेपालीमा उत्कृष्ट बहस गर्ने पारस वली र अंग्रेजीमा उत्कृष्ट बहस गर्ने शिशिर पौडेललाई पुरस्कृत समेत गरिएको छ ।