तुलसीपुर, १६ साउन । ग्वार खोलामा भइरहेको ढुंगा, गिट्टी, बालुवा चोरीले तुलसीपुर–७ का सिमरागाउँ टोल, बसन्तपुर टोल र सिंचाइँ कुलाहरु जोखिममा परेका छन् ।
यो गतिविधि तत्कालै रोक्ने पहल थाल्दिन तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीलाई वडा कार्यालमै पुगेर स्थानीयहरुले आग्रह गरेका छन् । असार महिनामा केही दिन खोला आएपछि अहिले खोला मत्थर भएको छ ।
खोला मत्थरभएसँगै दैनिक ५÷६ वटा ट्याक्टरले गिट्टी, ढुंगा र बालुवा उठाउने गरेका छन् भने प्रहरीलाई पटक पटक खबर गर्दा पनि उक्त कार्य नरोकिएको ग्वार सिमकुलोका अध्यक्ष मोहनबहादुर मल्लले बताउनुभयो ।
उनीहरुले जथाभावी नदीजन्य पदार्थ उठाइदिंदा खोलाको पश्चिमतर्फ सिमरागाउँ टोल र बसन्तपुर टोल क्षेत्र जाखिममा परेका छन् भने ग्वार सिमकुलो र पूर्वतर्फ मलवारे कुलाको भाग गहिरिदा सिंचाइँमा समस्या भएको सिमरागाउँ टोलका अध्यक्ष कमानसिं विश्वकर्माले जानकारी दिनुभयो ।
ग्वारखोलाका विभिन्न ठाउँमा हुने नदीजन्य पदार्थ चोरी रोक्न वडा कार्यालयको तर्फबाट पहल भइरहेको र केही ठाउँमा भइरहेको चोरी रोक्न सफल भएको वडाध्यक्ष रामबहादुर जिसीले बताउनुभयो । चोरीमा संलग्नहरु कुनै पनि हालतमा उम्किन नपाउने वडाध्यक्ष जिसीले बताउनुभयो ।
ग्वारखोलामा मात्रै नभएर तुलसीपुरका अन्य खोलाहरुमा पनि चोरी निकासी भइरहेको सूचना आएको र सोमवारदेखि नै प्राकृतिक स्रोत साधन अनुगमन तथा व्यवस्थापन समितिले अनुगमन थालिसकेको संयोजक शंकरकुमार खड्काले जानकारी दिनुभयो ।
खासगरी खोलामा भइरहेका चोरी निकासी रोक्ने काम स्थानीय सरकारकै भएको र यदि बल प्रयोग गर्नुपर्ने अवस्था आएमा प्रहरी खटिने तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलले बताउनुभयो ।
‘खोलाखोलामा कस्को ट्याक्टर, टिप्परले के बोकिरहेको छ भन्ने प्रहरीले हेर्न भ्याउँदैन । त्यो हेर्ने काम सम्बन्धित ठाउँका जनप्रतिनिधिले हो ।’ उहाँले भन्नुभयो– यदि जनप्रतिनिधिले रोक्न खोज्दा अटेरी गरे, बलजफ्ती गर्न खोजे भने प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाउने हो । यद्यपि स्थानीयहरुले दिएको सूचनाको आधारमा प्रहरीले गस्ती गरिरहेको छ । चोरी गरेको भेटिए कारबाही गर्छौं ।’ नयाँ युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नुभएको छ ।