तुलसीपुर, १४ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सुत्केरीलाई भाले उपहार दिन शुरु गरेको छ । वडाले चालुवर्षदेखि शुरु गरेको कार्यक्रम आज दुई जना सुत्केरीलाई भाले उपहार दिएर शुरुवात गरेको हो ।
कार्यक्रम अन्तर्गत छोरी जन्माएकी हस्नापुर निवासी २१ वर्षिय सुजाता खड्का वली र छोरा जन्माएकी बेलटाकुरा निवासी ३१ लक्ष्मी चौधरीलाई १/१ वटा भाले उपहार दिएको वडा अध्यक्ष मानबहादुर रावतले बताउनुभयो ।
वडाले ‘सुत्केरीलाई भाले उपहार कार्यक्रम’ अन्तर्गत प्रतिव्यक्ति १ हजार ५ सय बराबरको भाले उपहार दिने गरेको छ । यदि १ हजार ५ सय भन्दा कम मूल्यको भाले भएमा बाँकी नगद रकम पनि उपलब्ध गराउने गरेको अध्यक्ष रावतले बताउनुभयो ।
भाले उपहार पाउनका लागि सुत्केरी २० वर्ष माथिको हुनुपर्ने र स्वास्थ्य संस्थामा सुत्केरी भएको हुनुपर्ने अध्यक्ष रावतले बताउनुभयो । उरहरी स्वास्थ्य चौकी बेलटाकुरा पुगेर सुत्केरीलाई भाले उपहार प्रदान गरिएको वडाले जनाएको छ ।
वडा अध्यक्ष रावतले ‘सुत्केरीलाई भाले उपहार दिने कार्यक्रमले बालविवाह न्यूनिकरण हुने र स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने कुराको सचेतना दिने बताउनुभयो ।
उरहरी स्वास्थ्य चौकीका ईन्चार्ज चित्र बहादुर वलीले वडाले यसवर्ष देखि सुरु गरेको भाले उपहार कार्यक्रमले आमा र बच्चाको स्वास्थ्यमा निकै सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो । सुत्केरी हुने अवस्थामा स्वास्थ्य जाँचको लागि स्वास्थ्य संस्थासम्म जानुपर्छ भन्ने मान्यताले बच्चा र आमाको स्वास्थ्य राम्रो हुने उहाँले बताउनुभयो ।