दाङ, १३ साउन । दाङमा ११ वर्षको अवधिमा मनसुनजन्य विपतबाट मात्रै चार हजार आठ सय ३२ घर परिवार प्रभावित भएका छन् ।
आर्थिक वर्ष २०७०/०७१ देखि ०८०/०८१ सम्मको घटनालाई हेर्दा सबै भन्दा धेरै आर्थिक वर्ष २०७९/०८० मा दाङमा दुई हजार नौ सय ५७ घर मनसुनजन्य विपतबाट प्रभावित भएका थिए ।
त्यस वर्ष बाढीले मात्रै दुई हजार पाँच सय सात घर परिवार प्रभावित भएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा एक सय ५१ घर धुरी प्रभावित भएका छन् । जसमा हावाहुरी, भारी वर्षा, चट्याङ जस्ता विपतबाट एक सय २६ र बाढीबाट २५ घरधुरी प्रभावित भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।
आर्थिक वर्ष २०७०/०७१ मा बाढीबाट आठ घर परिवार प्रभावित भएका थिए । आर्थिक वर्ष २०७१/०७२ पाँच सय ९३, २०७२/०७३ मा ४८, २०७३/०७४ मा २८, २०७४/०७५ मा छ घर परिवार बाढीबाट प्रभावित भए भने हावाहुरी, भारी वर्षा, चट्याङ, करेन्ट जस्ता विपतबाट ११ घर परिवार प्रभावित भएका थिए ।
आर्थिक वर्ष २०७५/०७६ मा बाढीबाट एक र हावाहुरी, भारी वर्षा, चट्याङ, करेन्ट जस्ता विपत्बाट एक सय ७१ घरपरिवार प्रभावित भएका थिए ।
त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा बाढीबाट छ सय ४१ र हावाहुरी, भारी वर्षा, चट्याङ, करेन्ट जस्ता विपत्बाट ११ घर परिवार प्रभावित भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा बाढीबाट चार र हावाहुरी, भारी वर्षा, चट्याङ, करेन्ट जस्ता विपत्बाट पाँच परिवार प्रभावित भएकोमा आर्थिक वर्ष २०७८/०७९ मा हावाहुरी, भारी वर्षा, चट्याङ, करेन्ट जस्ता विपत्बाट एक सय ८९ घरपरिवार प्रभावित भएका थिए ।
यो वर्ष मनसुन यता दाङमा पाँचजनालाई बाढीले बगाएको छ । एक सय ७४ वटा घर, चार गोठ, छवटा उद्योग तथा पसलमा क्षति पनि भएको छ । मनसुन शुरू भएसँगै दाङ जिल्लामा मनसुनजन्य विपत्का घटनाबाट ११ करोड ४३ लाख ९३ हजार तीन सय ५० रूपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको जानकारी अनुसार यस वर्ष मात्रै नभई दाङमा मनसुनजन्य विपतबाट ठूलै जनधनको क्षति हुने गरेको छ ।
दाङमा बाढीबाट मात्रै औसतरुपमा प्रतिवर्ष तीन सय ८६ घर परिवार प्रभावित हुने गरेका छन् । हावाहुरी, भारी वर्षा, चट्याङ जस्ता विपत्बाट पनि वर्षेनि औसत ९७ घर परिवार प्रभावित हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।