२०८१ मङ्सिर २३ गते आइतवार

झारफुकको भर पर्दा सर्पदंशबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो


दाङ, ९ साउन । सर्पले टोकिसकेपछि तत्कालै सर्पको पहिचान गरी अस्पताल पुग्दा अकाल मृत्युको मुखबाट बच्न सकिने भए पनि झारफुकमा विश्वास गर्नेको सङ्ख्या बढ्दो छ ।

झारफुकमै भर पर्दा पछिल्लो तीन वर्षमा दाङमा मात्रै २५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ९ जना २०७९/०८० मा सर्पको टोकाइबाट ६ जना मृत्यु भएको छ ।

गत वर्ष १० जनाको मृत्यु हुँदा, एक सय ७८ जना सर्पदंशमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एकातर्फ सर्पदंशमा परेका बिरामीले अन्धविश्वासमा परेर झारफुक वा विष झार्ने जस्ता काममा समय व्यतित हुँदा ज्यान गुमाउने गरेका छन्, अर्कातर्फ नजिक अस्पताल नभएका कारण वा स्वास्थ्यकर्मीको ढिलासुस्तीका, अभावका कारण पनि कतिपय बिरामीको मृत्यु भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत, सर्पदंशका राष्ट्रिय प्रशिक्षक उमाकान्त तिवारीले सर्प नचिन्दा र अस्पताल ढिलो आउँदा कतिपय व्यक्तिहरूको सर्पदंशबाट मृत्यु हुने गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस