२०८१ मङ्सिर २३ गते आइतवार

अपांगमैत्री संचरना निर्माणदेखि रोजगारीमा विषेश अवसर दिने सरोकारवालाको प्रतिवद्धता


दाङ, ७ साउन । अपांगता भएका व्यक्तिको लागि अपांगमैत्री भौतिक संचरना निर्माणदेखि रोजगारीमा विषेश अवसर दिने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । अपांगता भएका व्यक्तिलाई रोजगारी र समावेशी सहभागीताका बारेमा सोमबार तुलसीपुरमा भएको कार्यक्रममा सरोकारवालाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनीहरुले सार्वजनिक भौतिक संरचना निर्माण गर्दा अपांगमैत्री बनाउने र रोजगारीमा पनि विषेश अवसर दिने प्रतिवद्धता जनाएका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष थलराज पुरीले वडा कार्यालयको भवन निर्माण गर्दा अपांगमैत्री बनाउने बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिका लागि कार्यालयमा प्रवेश गर्नेदेखि नागरिक बडापत्र अपांगमैत्री हुने बताउनुभयो ।

यस्तै तुलसीपुर-१५ का अध्यक्ष लक्ष्मण चौधरीले अपांगता भएका व्यक्तिको आयआर्जनमूखी कार्यक्रम निरन्तर गरिरहेको र आगामी दिनमा पनि गर्ने बताउनुभयो । उहाँले वडाको भवन निर्माण पनि अपांगमैत्री बनाउने बताउँदै वडामा रहेका अपांगता भएका व्यक्तिको आर्यआर्जनमा टेवा पुग्ने गरी कार्यक्रम ल्याउने बताउनुभयो ।

तुलसीपुर-१९ का अध्यक्ष प्रेमनाथ योगीले पनि अपांगता भएका व्यक्तिलाई रोजगारी र वडाको भौतिक संरचना अपांगमैत्री बनाउने बताउनुभयो । यस्तै तुलसीपुर-१० का वडा सदस्य ज्ञान बहादुर खड्का, तुलसीपुर-८ का वडा सदस्य हस्त बहादुर बिक लगायतले वडा कार्यालय अपांगमैत्री रहेको बताउँदै अपांगता भएका व्यक्तिको आयआर्जनमा थप टेवा पुग्ने गरी कार्यक्रम बनाउने बताउनुभयो ।

होटल मानसरोबरका संचालक दिनबहादुर जिसीले हाटेलमा अपांगता भएका व्यक्तिलाई रोजगारीमा विषशे प्राथमिकता दिने बताउनुभयो । उहाँले यसअघि पनि अपांगता भएका व्यक्तिलाई रोजगारी प्रदान गरिसकेको बताउनुभयो । तुलसीपुर-७ बम्नैमा रहेको शुभारम्भ साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक अमृता शर्माले अपांगता भएका व्यक्तिलाई कृषिमा सहुलियत कर्जा प्रदान गरिने बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रमका प्रशिक्षक डेक नेपालका कार्यक्रम प्रवन्धक जीवन गिरीले अपांगता भएका व्यक्तिको अधिकार, आरक्षणको व्यवस्था लगायतका बारेमा प्रशिक्षण गर्नुभयो । युएसएडको सहयोगमा सिबिएम, डेक नेपाल, कोशिसको सहकार्यमा भएको कार्यक्रमको सहजीकरण युएसएड सक्षम परियोजिनाको वरिष्ठ आर्थिक सशक्तिकरण सहजकर्ता देवा डाँगीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस