तुलसीपुर, ४ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ले टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीको परिचयपत्र नविकरण गर्न सुरु गरेको छ ।
सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने जेष्ठ नागरिक र शारिरीक रुपमा अशक्त व्यक्तिहरुलाई वडासम्म पुग्न समस्या हुने भएकोले वडाले गाँउमै पुगेर कार्ड नविकरण गर्न सुरु गरेको हो ।
भौगोलिक हिसाबले १३ नम्बर वडा विकट रहेको हुँदा सामाजिक सुरक्षाभत्ताको कार्ड टोलटोलमै पुगेर नविकरण गर्ने व्यबस्था मिलाएको वडा अध्यक्ष मोहनलाल पौडेलले बताउनुभयो ।
अहिले नेपाल सरकारले कार्ड नविकरण गर्नको लागि स्वयंम व्यक्ति नै पुग्नुपर्ने निणर्य गरेकोले वडासम्म पुग्न नसक्ने व्यक्तिहरुलाई राहत मिलेको उहाँको भनाई छ । वडाले बिहिबारबाट प्राथमिक विद्यालय बखरीयाबाट सामाजिक सुरक्षाभत्ता कार्ड नविकरण गर्न सुरु गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
७ गतेसम्म बखरीयामा, ८ गतेदेखि १२ गतेसम्म अम्बेश्वरी मावि अम्बापुर, १३ गतेदेखि १७ गतेसम्म आधारभूत विद्यालय बराहखुटीमा कार्ड नविकरण गरिने पौडेलले जानकारी दिनुभयो । यो महिनाभरी वडामा कार्ड नविकरणको काम हुने वडाले जनाएको छ ।
वडामा जेष्ठ नागरिक, शारिरीक रुपमा अपाङगता भएका व्यक्ति, बालबालिका गरी ६ सय ५० जना रहेका छन् । १२ जना घरबाहिर नीस्कने नसक्ने अबस्थाका रहेका छन् । अहिले कार्ड नविकरण टोलटोलमा पुगेर गरेको र शारिरीक रुपमा अशक्त तथा जेष्ठ नागरिकहरुलाई यो वर्षदेखि बैंकको समन्वयमा सुरक्षाभत्ता घरघरमै पुर्याइने वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
वडामा २६ वटा टोल विकास संस्थाहरु रहेको छ । त्यसमा पनि वडा सम्म पुग्नको लागि पनालीबोट, सिमलखुटी, साझखुटी, बखरीयाबासीलाई ८ किलोमिटरको बाटो हिड्नुपर्ने बाध्यता रहेको छ ।


