दाङ, १ साउन । दाङको तुलसीपुरमा रहेको ज्ञानज्योति मावि देशभरमै उत्कृष्ट सातमा परेको छ । देशभरमा छनौट गरिएका ८ हजार भन्दा धेरै माविमध्ये ज्ञानज्योति उत्कृष्ट ७ औं स्थानमा पर्न सफल भएको हो ।
भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र पिपुल्स पर्सेप्सन लगायतका विषयलाई आधार बनाएर छनौट गर्दा ज्ञानज्योति मावि उत्कृष्ट ७ मा परेको हो ।
छनौट प्रक्रियामा सम्पूर्ण माविहरुमध्ये लगातार पछिल्ला दुई वर्षमा ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी गराउने मावि, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, बोर्डबाट पाएको उत्कृष्ट माविको पुरस्कार, कक्षा ११ र १२ पढाउने अनुमति पाएको वर्ष र पिपुल्स पर्सेप्सनलाई अब्बल मावि छनोटको आधार बनाइएको छ ।
जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४÷४ प्रतिशत अंक निर्धारण गरिएको थियो । ती सबै जोडेर कूल अंकका आधारमा अब्बल माविको सूची तयार पारिएको हो । यो नतिजा एजुकेसन समाचार काठमाडौंले तयार पारेको हो ।
सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र जिसीले बताउनुभयो ।
‘विद्यार्थीहरुलाइ क्षमता, अभिरुची र समयसापेक्ष तरिकाको अध्यापन गराई उनीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन सक्नु ठूलो कुरा हो, त्यसले नै सफलता र अब्बलता निर्धारण गर्छ । त्यो गुण ज्ञानज्योतिको टिमसँग छ ।’ उहाँले भन्नुभयो–‘साथैै गुणस्तरीय, आत्मनिर्भर र स्वरोजगारमुलक शिक्षामा जोड दिएका कारण पनि ज्ञानज्योति सफलता हासिल गर्न योग्य ठहरिन्छ ।’
अत्याधुनिक सुविधा सम्पन्न भौतिक पूर्वाधार, पढाइमैत्री वातावरण, सुविधा सम्पन्न यातायातको व्यवस्था, आधुनिक ल्याब तथा लाइब्रेरी विद्यालयका थप विशेषता हुन् ।
यी विविध कारणले पनि अब्बलता हासिल गर्न सफल भएको उहाले बताउनुभयो । – अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै प्रभाव छ । विद्यार्थीले नगर, जिल्लाका साथै विभिन्न क्षेत्रस्तरीय खेलकुुद प्रतियोगितामा उत्कृट स्थान हासिल गरिरहेको र अहिले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
ज्ञान ज्योतिलाई स्थापनाको दोस्रो वर्ष २०६७ सालमै शिक्षामन्त्रालयले उत्कृष्ट माविको उपाधिसहित पुरस्कार समेत प्रदान गरिसकेको छ । विद्यालय हालसम्म उत्कृष्ट विद्यालय पुरस्कार २०६९, २०७०, २०७१, २०७२, २०७३, २०७४ र २०७५ मा निरन्त सम्मानित हुनुका साथै २०७९ सालमा देशकै उत्कृष्ट १५ माविमा छनोट भएको थियो सहायक प्रधानाध्यापक मनोज कुमार केसीले बताउनुभयो ।
ज्ञान ज्योतिको यो सफतामा योगदान दिनुहुने सम्पूर्ण शिक्षक÷शिक्षिकाहरु, विद्यार्थी, अभिभावकहरु, कर्मचारीहरु र सम्पुर्ण शुभचिन्तकहरुप्रति विद्यालय परिवारले हार्दिक आभार प्रकट गर्दै भबिष्यमा पनि सहयोगको अपेक्षा गरेको सहायक प्रधानाध्यापक मनोजकुमार केसीले बताउनुभयो ।
यस विद्यालयले हालसम्म थुप्रै दलित, जनजाति, विपन्नवर्ग जेहन्दार तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको र विभिन्न समयमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित पनि हुँदै आएको विद्यालयका शैक्षिक संयोजक शरद गौतमले बताउनुभयो ।
कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुँदै आएको माविले भविष्यका शैक्षिक योजना अन्तर्गत विद्यार्थी भर्ना २०८१ लाई उत्साहपूर्ण बनाउने तथा स्नातक तहमा बिबिएस्, बिएस्सी, बिए र बिसीए अध्यापनमा विशेष जोड दिने तयारी गरिरहेको छ ।