२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङमा तीन वर्षमा सर्पको टोकाईबाट २५ जनाले गुमाए ज्यान

दाङ, २९ असार । दाङमा तीन वर्षको अबधिमा सर्पदंशबाट २५ जनाको मृत्यु भएको छ । प्रहरीको तथ्याङक अनुसार चालु आर्थिक वर्षको हालसम्म मात्रै १० जनाको मृत्यु भइसकेकोे छ ।

चालु वर्षको २०८०/०८१ को हालसम्म १०, आर्थिक वर्षमा २०७९/८० मा ६ र आर्थिक वर्ष २०७८/७९ मा ९ जना गरी २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पताल जानुको साटो झारफुकमा विश्वास गर्दा पछिल्लो तीन वर्षमा २५ जनाको मृत्यु भएको छ । सर्पदंशका बिरामी अस्पताल पुगेपछि कुनै पनि बिरामीले ज्यान गुमाउनु पर्दैन भन्ने सरकारी नीति भए पनि दाङमा कतिपयले झारफुकमा लाग्दा मृत्यु हुने गरेको छ भने कतिपयले सर्पको पहिचान गरी अस्पताल पुग्दा पनि मृत्युवरण गर्नु परेको छ ।

चालु वर्षमा एक सय ७८ जना सर्पदंशमा परेको जिल्ला प्रहरी कार्यालयको तथ्यसङले देखाएको हो । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङका खरिदार शम्भु आचार्यले सर्पदंशमा परेका बिरामीले घरपरिवार र समाजमा विद्यमान अन्धविश्वासमा परेर झारफुक वा चुसेर विष निकाल्ने जस्ता काममा समय व्यतीत हुँदा सर्पदंशबाट मृत्यु हुने गरेको बताउनुभयो ।

समयमै अस्पताल पुगिसकेका बिरामीले पनि ज्यान गुमाउनुमा स्वास्थ्यकर्मीकै लापरबाही भएका बिरामीका आफन्त गुनासो गर्छन् । सर्प नचिन्दा र अस्पताल ढिलो आउने गरेका कारण कतिपय व्यक्तिहरूको सर्पदंशबाट मृत्यु हुने गरेको चिकित्सकहरू बताउँएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्पदंशका राष्ट्रिय प्रशिक्षक उमाकान्त तिवारी सर्पले टोकी हाल्यो भने तत्काल अस्पताल पुग्न आग्रह गर्नुभएको छ ।

पछिल्लो समय एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्ने भएको हुँदा पनि कतिपयले अकालमै मृत्युवरण गर्नु परेको उहाँले बताउनुभयो । सर्पले टोकिसकेपछि तत्कालै सर्पको पहिचान गरी अस्पताल पुग्दा अकाल मृत्युको मुखबाट बच्न सकिने उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८१ असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस