
दाङ, २२ असार । अविरल वर्षाका कारण घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलाले डाईभर्सन बगाएपछि बैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय दाङले अनुरोध गरेको छ ।
बाढी बढ्दै गएकोले तत्काल मर्मत गर्न नसकिने अवस्था देखिएपछि बैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ । यस्तै आवश्यक काम वाहेक आज यात्रा नगर्न समेत अनुरोध गरेको छ ।
घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको छ । सवारी साधनले वैकल्पीक बाटोको प्रयोग गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
सेवार खोलामा चार लेनको पुल निर्माण भइरहेको छ । पुल निर्माणस्थलमा डाईभर्सन नहुँदा यात्रामा सास्ती हुने गरेको छ । यस्तै हापुर खोलामा पनि पानीको बहाव बढेपछि साना सवारी साधनलाई आवागमनमा समस्या भएको छ ।
घोराही-तुलसीपुर सडकखण्डका अधिकांश खोलामा पुल बनिसकेका छन् । सेवार खोला र हापुर खोलामा पुल निर्माण गर्न बाँकी छ । सेवार खोलामा पुल निर्माण सुरु भए पनि हापुर खोलामा कहिले पुल निर्माण हुने हो टुङ्गो छैन् ।