![](https://ekapinews.com/wp-content/uploads/2024/07/tb-rog.jpg)
दाङ, २० असार । नेपाललाई क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ । अभियान अन्तर्गत यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा थालिएको छ ।
सोहीअनुसार गाउँ–गाउँमा गएर क्षयरोगका बिरामी पहिचान गरी उपचार थालिएको तुलसीपुर–४ स्थित हलवार स्वास्थ्यचौकी प्रमुख शिवप्रसाद तिवारीले बताउनुभयो ।
यसका लागि गाउँ–गाउँमा अभियान लिएर बिरामीको खोजी गर्न थालिएको छ । क्षयरोगका बिरामीको पहिचान नहुँदा रोग सार्ने जोखिम उच्च रहेको जनाउँदै यो अभियान थालिएको हो ।
गाउँ–गाउँमा गएर खकार परीक्षण गर्ने, गाउँ–गाउँमा गएर यो रोगबारे जनचेतना अभिवृद्धि गराउनेजस्ता कार्यक्रमको कार्ययोजना बनाएर सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
तुलसीपुरमा चालु वर्षमा दुई सय ६५ क्षयरोगी छन् । तीमध्ये एकसय ३२ जनामा खकार देखिएका, ३६ जना खकारमा नदेखिएका र ७२ जना फोक्सोभन्दा बाहिर रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीले बताउनुभयो ।
उहाँका अनुसार चालु वर्षमा क्षयरोगबाट तुलसीपुरमा आठ जनाको मृत्यु भएको छ । सबै क्षयरोगी सम्पर्कमा नआउने भएकाले पनि उनीहरूको खोजी गर्ने गरी अभियान सञ्चालन हुने उहाँको भनाइ छ ।
तुलसीपुरमा सबैभन्दा बढी ६५ वर्षमाथिका व्यक्तिमा क्षयरोगको समस्या देखिएको छ । चुरोट, गुट्खा, जाँड, रक्सी खाने व्यक्तिमा बढी यो समस्या देखिने गरेको केसीले बताए । दाङमा एक हजार चार सय ५३ जना क्षयरोगका बिरामी भेटिएका छन्, भने लुम्बिनी प्रदेशमा आठ हजार ८५ बिरामी छन् ।
दाङमा क्षयरोग परीक्षणका लागि दुईवटा आधुनिक उपकरण रहेका छन् । एउटा उपकरण घोराही र एउटा लमही रहेका छ । त्यस्तै ‘माइक्रोस्कपी’ २०, ‘डिओटिएस’ ५० छन् । गत आवमा २५ स्थानीय तहमा यो कार्यक्रम चलेको थियो ।