२०८१ फाल्गुन ७ गते बुधवार

सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै : डाईभर्सन नहुँदा सास्ती


दाङ, १९ असार । घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण सुरु भएको छ । घोराही उपमहानगरपालिका-१६ स्थित सेवार खोलामा २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको हो ।

पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर उपेन्द्र दासले तीन करोड ५० लाखको लागतमा तीन वर्षभित्र पुल निर्माण गर्नेगरी रायमाझी निर्माण सेवा प्रालि काठमाडौँले काम सुरु गरेको जानकारी दिनुभयो ।

उहाँले ७० मिटर लम्बाइ र २० दशमलव पाँच मिटर चौडाइको पुल बनिरहेको बताउनुभयो । पुल नहुँदा बर्षातको समयमा आवतजावत गर्न निकै समस्या हुने गरेको छ । पुल निर्माण सुरु भएपछि स्थानीय तथा यात्रुहरू खुसी भएका छन् । तर समयमै निर्माण नहुने हो कि भन्ने चिन्ता नागरिकलाई छ । खोलामा पुल निर्माणस्थलमा डाईभर्सन नहुँदा यात्रामा सास्ती हुने गरेको छ ।

घोराही-तुलसीपुर सडकखण्डका अधिकांश खोलामा पुल बनिसकेका छन् । सेवार खोला र हापुर खोलामा पुल निर्माण गर्न बाँकी छ । सेवार खोलामा पुल निर्माण सुरु भए पनि हापुर खोलामा कहिले पुल निर्माण हुने हो टुङ्गो छैन् ।

यसअघि तुलसीपुर-लमही सडकखण्डअन्तर्गत कटुवा खोला, बबई खोला, गुर्जे खोला, सिस्ने खोला, पत्रे खोला, कालाखोला, ग्वारखोला र सक्राम खोलामा पुल निर्माण भइसकेका छन् ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस