दाङ, १९ असार । दाङसहित देशका अधिकांश ठाउँमा अहिले पनि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको जनाएको छ ।
महाशाखाले अहिले देशभर साधारणदेखि पूर्णतया बदली रहेको जनाएको छ । अहिले विषेशगरी लुम्बिनी, बागमती, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ । देशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।


