तुलसीपुर, १८ असार । तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको छ । उपमहानगरपालिकामा ५ वर्ष मुनिका सबै बालबालिकाले सबै खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले पालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्नुभएको हो । उहाँले घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राज्यले आफ्ना हरेक नागरिकलाई निरोगी बनाउन बालबालिकालकालाई खोप लगाउनुपर्ने प्रावधान अघि सारेको बताउनुभयो ।
यस्तै नगरप्रमुख टीकाराम खड्काले सबैको साथ र सहयोगले पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सकिएको बताउनुभयो । आगामी दिनमा पनि यो कार्यक्रमले निरन्तरता पाउने उहाँले बताउनुभयो । उहाँले भविष्यमा पालिकाभित्र खोप सहज र सुलभ रुपमा लगाउनका लागि थप खोप केन्द्र विस्तार गर्न प्रयास हुने बताउनुभयो ।
जनस्वास्थ्य निरीक्षक बिमल केसीले नगरका ५ वर्षमूनिका ८ हजार ६ सय ८३ जना बालबालिकाले सबै खोप लगाएसंगै पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सफल भएको बताउनुभयो । स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले आउँदो साताभित्रै दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका सयोजक मान बहादुर रावत, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदमप्रसाद न्यौपाने लगायतले स्वस्थ नागरिक बनाउनका लागि खोप अनिवार्य भएको बताउनुभयो ।
जनस्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक बिमल केसीले गर्नुभएको हो । त्यस अवसरमा खोप अभियानमा सहयोग गर्ने स्वास्थ्य सस्थालाई सम्मान गरिएको छ ।