
दाङ, १७ असार । आउँदो बिहीवारसम्म नै मनसुन सक्रिय हुने भएकाले देशका विभिन्न ठाउँमा निकै ठूलो पानी पर्न सक्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
मनसुनी न्यून चापिय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले आउँदो बिहीवारसम्म देशभरको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुँदा कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा निकै ठूलो पानी पर्ने सम्भावना रहेकोले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने उहाँको भनाइ छ ।