२०८१ मङ्सिर २३ गते आइतवार

ड्रग्स बिक्रि गरेको भेटेपछि सल्यानको श्रीनगरका दुई मेडिकल सिल

सल्यान, १५ असार ।
शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालको मेडिकल र मोडेल मेडिकल हल सिल गरिएको छ ।

विभिन्न किसिमको गुनासो आएपछि औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय, शारदा नगरपालिका र उद्योग वाणिज्य संघले संयुक्त रुपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा बिक्री गर्न नमिल्ने तथा ड्रग्सको रुपमा प्रयोग गरिने औषधि गैरकानुनी रुपमा बिक्री गर्नका लागि राखेको भेटिएको छ । औषधि बिक्री गर्ने आधिकारिक फर्मासिस्ट नराखी मनपरी औषधि बिक्री गरेको खुलेपछि अनुगमन टोलीले दुई वटा मेडिकल सिल गरेको हो ।

दुई साताअघि जिल्ला प्रशासन तथा उद्योग विकास कार्यालय सल्यानले अनुगमन गर्दा विभिन्न किसिमका कैफियत भेटिएपछि औषधि व्यवस्था विभाग शाखा नेपालगन्जको टोली आएर अनुगमन गरेको र अनुगमनमा प्रतिबन्धित औषधि बिक्री गरिरहेको पाइएको औषधि ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरिक्षक दिपेन्द्र कुमार शाहले बताउनुभयो ।

बिक्री गर्न प्रतिबन्ध लगाएका औषधि विभागमा पेस गर्ने र विभागीय निणर्य अनुसार कारवाही गरिने उहाँले जानकारी दिनुभयो । अनुगमन गर्दा धेरै कैफियत देखिएपछि मोडेल मेडिकल हललाई २० हजार र एभरेष्ट मेडिकल हललाई ५ हजार जरिवाना समेत गरेको उहाँको भनाई छ ।

प्रतिबन्धित औषधि ड्रग्सको रुपमा बिक्री गर्दै आएको गुनासो बढिरहेको बेला अनुगमन गर्दा प्रत्यक्ष भेटिएपछि औषधि बरामद मात्र नभई कर्णाली अस्पतालद्वारा संचालित मेडिकल र मोडेल मेडिकल हल सिल गरिएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस